
दाङ, २६ असार। नेपाली गीतसङ्गीतको आकाशमा एउटा नयाँ तारा चम्किएको छ। शारीरिक अपाङ्गतालाई चुनौती दिँदै साहित्य र सङ्गीतमा सक्रिय मञ्जु कँडेलले आफ्नो सशक्त उपस्थिति जनाएकी छन्।
हालै सार्वजनिक भएको उनको नयाँ तीज गीत ‘छनी तीज आको’ ले यति बेला श्रोताहरूको मन जितिरहेको छ।
मञ्जु कँडेलको शब्द रचना रहेको यस गीतमा गायक विनोद महातराको र गायिका तारा थापाको सुमधुर स्वर रहेको छ। तीजको मौलिक परम्परा, नारीका भावनात्मक सङ्घर्षहरू, उत्सव र उल्लासलाई समेट्दै तयार पारिएको यो गीतले नेपाली समाजमा महिलाको जीवन, चाडपर्वको सांस्कृतिक महत्त्व र सामूहिक भावनालाई गहिरोसँग उजागर गरेको छ।
अपाङ्गताका बाबजुद कँडेल विगत केही वर्षदेखि कविता, गजल, कथा तथा गीत लेखनमा निरन्तर सक्रिय रहँदै आएकी छन्। उनको यो अथक साधना र सिर्जनात्मकताले धेरैलाई जीवनमा अघि बढ्न प्रेरित गरिरहेको छ।
