इच्छाकामना, ११ असार । ८० वर्षकी आइतीमाया गुरूङले जीवनमै पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गराइन् । गत फागुनदेखि दमको औषधि खान थालेकी सिस्नेरीकी आइतीमाया शनिबार माझगाउँ माविमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुसँग परामर्शसहित निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा फुरूङ्ग थिइन् !
‘पेट दुख्ने, झम्झमाउने, दम बढ्ने समस्या भएर यहाँ आएकी थिएँ, हामीलाई भेट्न पहिलोपटक डाक्टरहरु नै गाउँमा आउने कुरा सुनेपछि मलाई पनि जाँच गर्न मन लाग्यो’, उनले भनिन्, ‘समस्या देखिएजति सबै जँचाइयो, अरु सबै ठिकै छ भन्नुभयो, दमको औषधि दिनुभएको छ ।’
रूप्लाङकी २१ वर्षीया सपना गुरूङले पनि यही मेसोमा स्वास्थ्य जाँच गराइन् । खेतीकिसानी र घाँसपातले घर छाड्न नपाएकी उनी यसपटक गाउँमै शिविर आउने थाह पाएपछि श्रीमान् र ससुरालाई घरमा छाडेर स्वास्थ्य जाँच गराउन आइन् । ‘घरमा वर्षदिनकी छोरी छे, वस्तुभाउ पनि हेर्नुपर्यो’, उनले भनिन्, ‘त्यही भएर श्रीमान् र ससुरा बालाई घरमा छाडेर आएँ ।’
स्वास्थ्य जाँचका लागि कुरिनटारसम्म झर्न पनि सम्भव नहुने गाउँलेका लागि भरतपुरका ठूला अस्पताल आउनु सपनाजस्तै भएको उनले बताइन् । यस्तो अवस्थामा गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेर धेरै राम्रो काम गरेको भन्दै आयोजकप्रति आभार प्रकट गरिन् । ‘यो ठाउँमा कम्तीमा वर्षको दुईपटक यस्तै शिविर सञ्चालन गर्न सके गाउँलेलाई धेरै राम्रो हुन्थ्यो’, उनले भनिन् ।
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद्, चितवनले बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेपछि आइतीमाया र सपनाजस्तै २५५ जनाले निःशुल्क स्वास्थ्यसेवा लिएका छन् । इच्छाकामना गाउँपालिकाको वडा नं–३ का अधिकांशले सेवा लिएका वडा अध्यक्ष नरबहादुर नेपालले जानकारी दिए । ‘बर्खाको मौसम भएकोले अझ टाढाबाट आउनेहरु आउन सकेनन्’, उनले भने, ‘राम्रो मौसमको बेला कार्यक्रम गर्न पाएको भए तीन सय जनाभन्दा बढी लाभान्वित हुनेथिए ।’
ह्युल छोँज धीँको नयाँ नेतृत्व आइसकेपछि सामाजिक क्षेत्रमा गरेको यो कार्यक्रम पहिलो हो । समग्ररुपमा आदिवासी जनजाति समुदायको बाक्लो उपस्थिति भएको ठाउँमा आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा गर्व महसुस भएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् । कार्यक्रमका लागि स्थानीयस्तरमा इच्छाकामना गाउँपालिका, वडा नं–३ र माझगाउँ माविले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
भौगोलिक कठिनाइका कारण स्वास्थ्यमा समस्या भएर पनि स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेहरुका लागि यो शिविर अत्यन्तै फलदायी भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले बताए । सिङ्गो पालिकावासी नै भौगोलिक कठिनाइको सामना गरेर जिन्दगी गुजार्दै आएको बताउँदै यस्तै कार्यबाट गाउँलेको सेवामा जुट्न पाउनु ज्यादै राम्रो काम भएको उनले बताए ।
ह्युल छोँज धीँले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने स्वागत मन्तव्यका क्रममा वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले बताए । कार्यक्रममा वरिष्ठ न्युरो सर्जन डा। प्रितम गुरूङ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा। सुनिलकुमार साहलगायत २५ जना स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचपछि औषधि सेवन गर्नुपर्नेहरुका लागि औषधिसमेत निःशुल्करुपमा उपलब्ध गराएको थियो ।