Chitwan Aawaj

२०८२ मंसिर २४ गते

राजतन्त्रको पक्षमा सिपी मैनाली

काठमाडौँ, २२ असोज । नेकपा (माले) का महासचिव सिपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिएका छन् । देश जोगाउन परम्परागत राजसंस्था फर्काउन सकिने उनको धारणा छ ।

विपी काँग्रेसले आज काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै झापा विद्रोहका संस्थापक नेता मैनालीले भने, ‘बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्यमान बनेको छ ।’

दोस्रो जनान्दोलनपछि २०६३ साल वैशाख १० गते राजासहितको प्रजातन्त्रका लागि दलहरु सहमत भएपनि विदेशी शक्ति केन्द्रको दबाबमा राजसंस्था हटाइएको दाबी उनले गरे । देशलाई आजको अवस्थामा पुर्याउन राजनीतिक दलहरूकै भूमिका रहेको मैनालीको आरोप छ । तत्कालीन राजा वीरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्तावलाई पनि दलहरुले नै खारेज गरेको बताउँदै उनले यसमा पनि वैदेशिक शक्तिको चासोले काम गरेको बताए ।

‘२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर, पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो’, मैनालीले थपे, ‘देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरु नै हौँ । शान्ति क्षेत्रको प्रस्तावलाई हामी दलहरुले नै हो खारेज गरेको हो । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको हो ।’ उनले नेपालका लागि भारत धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी पनि गरेका छन् । भारतले कहिल्यै पनि नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक स्वीकार गर्न नसकेको जिकिर उनको छ ।

अहिले मुलुक प्रतिकूल अवस्थामा रहेको भन्दै मैनालीले देशका सबै शक्तिहरू एकतावद्ध हुनुपर्नेमा जोड दिए । देश जोगाउन परम्परागत राजाको आवश्यकता भइसकेको उनले दाबी गरे ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.