Chitwan Aawaj

२०८२ मंसिर २४ गते

त्रिवि क्रिकेट मैदान छिट्टै आधुनिक रूपमा, १२ हजार दर्शक अटाउने गरी पहिलो चरण अन्तिम चरणमा

काठमाडौँ, २३ असोज । सहरी विकास मन्त्री कुलमान घिसिङले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज मैदान स्थलगत अवलोकनपछि मन्त्री घिसिङले पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मैदानमा प्यारापिट निर्माण लगभग सम्पन्न भएको छ भने छवटा फ्लडलाइट एक महिनाभित्र जडान गरिने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल प्रिमियर लिग सुरु हुनुअघि १२ हजार दर्शक अटाउने गरी तयार हुनेछ,” मन्त्री घिसिङले बताउनुभयो ।

दोस्रो चरणको काम पूरा भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ । उहाँका अनुसार दोस्रो र तेस्रो चरणका डिजाइन पनि तयार भइसकेका छन् । मन्त्री घिसिङले परियोजनाको बजेट सुनिश्चिततामा सरकार गम्भीर रहेको उल्लेख गर्दै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय महत्वका खेललाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “निर्माण कम्पनीले समयमै काम पूरा गरी मैदान छिट्टै हस्तान्तरण गर्नुपर्छ ।”

उहाँले ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई काम तीव्र पार्न आग्रह गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा कार्य भइरहेको जानकारी दिनुभयो ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.