काठमाडौँ, २३ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार संविधान र लोकतन्त्रको मर्म विपरीत बनेको आरोप लगाएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशलाई कुनै सरकारी ओहदामा राख्न नपाइने संवैधानिक प्रावधान उल्लङ्घन गरी अन्तरिम सरकार गठन गरिएको बताएका हुन् । पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता जोगाउन एमाले सदैव अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज अनेक पुस्ताको संयोजनबाट सञ्चालन हुने उल्लेख गर्दै जेनजी युवाको नाममा बाह्य शक्तिले पुस्ता विभाजन र अराजकता फैलाएर राष्ट्रिय एकता कमजोर पार्ने प्रयास भइरहेको बताए ।
त्यसैगरी, नेता महेश बस्नेतले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउने र अराजकता फैलाउने कार्यमा संलग्न सबैको छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
