Chitwan Aawaj

२०८२ मंसिर २४ गते

भरतपुरको क्रिकेट सपना: अधुरो रङ्गशाला, ४० प्रतिशत मात्र काम

भरतपुर, २ कात्तिक । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अहिले सम्म पनि अधुरो सपना जस्तै देखिन्छ । काम अगाडि बढिरहेको छ, तर पूरा हुन अझै समय लाग्ने देखिएको छ । हालसम्म रङ्गशालाको करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको भरतपुर महानगरका इन्जिनियर घनश्याम मिश्रले जानकारी दिएका छन् ।

हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलासम्म ढलान र फर्मा बाँध्ने काम भइरहेको छ । मिश्रका अनुसार टावर तीन तलाको हुनेछ र पछाडि पट्टिका कोठा निकाल्ने ढलानको काम पनि सुरु भइसकेको छ । अहिले १२२ जना मजदुरले काम गरिरहेका छन् । तिहार र छठका कारण केही समय काम सुस्त भए पनि त्यसपछि काममा गति आउने महानगरको भनाइ छ । ठेक्का सम्झौताअनुसार हालसम्म ४८ प्रतिशत काम हुनुपर्ने भए पनि केही ढिलो भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि रङ्गशाला निर्माणको जिम्मा भरतपुर महानगरले लिएको हो । अहिले हिमालयन कालिञ्चोक बिबिआर जेभीले निर्माणको जिम्मा लिएको छ । कुल लागत करिब ७८ करोड ५० लाख रुपैयाँ रहेको र २०८३ पुस २२ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणको काम सकिएपछि यहाँ १५ हजार दर्शक अट्ने प्याराफिट, दुई वटा भिआइपी टावर, पाँच वटा पिच, पानी निकास प्रणाली, रेलिङ, बाटो र पार्किङ क्षेत्र तयार हुने योजना छ । दोस्रो चरणमा थप संरचना निर्माण गरी रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गरिनेछ ।

यो रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको, तर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० बिघा १९ कठ्ठा जमिनमा भरतपुर-१५ मा निर्माण भइरहेको छ । क्रिकेटका प्रशंसकहरूले यो परियोजनाबाट चितवनलाई अन्तर्राष्ट्रिय खेलमैदानको सहरको रूपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.