काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दम्भी र अहङ्कारी भन्नेलाई “सत्य बोल्ने मेरो बानी हो” भन्दै स्पष्ट प्रतिक्रिया दिएका छन् । शुक्रबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सधैँ सत्य बोल्ने व्यक्ति भएको र त्यसलाई कतिपयले गलत रूपमा व्याख्या गर्ने गरेको बताए ।
ओलीले भने, “हेर त, दम्भी र अहङ्कारी भन्नेहरूलाई के भनौं ? म त सत्य बोल्ने बानीको मान्छे हुँ । मैले कुरा लुकाउँदिन, जसलाई जे भन्नु छ, स्पष्ट भनिदिन्छु ।” उनले आफूमा कुनै प्रकारको अहङ्कार नरहेको र जनताप्रति सधैँ जिम्मेवार भएर काम गर्ने गरेको दाबी गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले हालै सम्पन्न २३ र २४ गतेको आन्दोलनबारे पनि टिप्पणी गरे । उनका अनुसार उक्त आन्दोलनमा सहभागी अधिकांश युवा जेनजी पुस्ता हुन्, जसलाई भ्रममा पारिएको थियो । “ती युवाहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्,” ओलीले भने, “तिनीहरूले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र बन्द गरिएको सामाजिक सञ्जाल खोल्नुपर्ने माग गरेका थिए।”
ओलीले जेनजी पुस्ताको आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने सुझाव पनि दिए । उनका अनुसार नयाँ पुस्तामा राजनीतिक सचेतना बढ्दै गएको छ तर त्यसलाई भड्काउने, गलत सूचना दिने र भ्रम फैलाउने प्रवृत्तिले आन्दोलनलाई गलत दिशामा पुर्याएको हो ।अन्त्यमा ओलीले लोकतन्त्रमा आवाज उठाउने हरेक नागरिकको अधिकारको सम्मान गर्नुपर्ने बताए । उनले भने, “आवाज उठाउने नाममा तथ्यहीन प्रचार र भ्रम फैलाउने कार्यले समाजलाई कमजोर बनाउँछ ।”
उनले सञ्चार माध्यमलाई पनि जिम्मेवार भएर सत्य घटनाको प्रस्तुति दिन आग्रह गर्दै संवादकै माध्यमबाट राजनीतिक र सामाजिक समस्या समाधान गर्न सकिने बताए ।
