चितवन, २ कार्तिक। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर आगामी कार्तिक ४ गते चितवनमा आयोजना हुने भएको छ । फ्रेन्चाइज टोली चितवन राइनोजले ट्रफी टुरको विस्तृत तालिका सार्वजनिक गर्दै नारायणघाटस्थित क्याम्पाचौरबाट कार्यक्रम सुरु हुने जनाएको छ ।
टुर बिहान ९ बजेबाट सुरु हुनेछ र दिनभर चल्नेछ । सहभागीहरूलाई राइनोजका खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गरिने भएको छ । राइनोजका अध्यक्ष आयुष न्यौपानेका अनुसार टुरसँगै मोटरसाइकल र्याली समेत निकालिने तयारी गरिएको छ, जसले सम्पूर्ण चितवनमा एनपीएलको उत्साह फैलाउनेछ । ट्रफी टुर क्याम्पाचौर हुँदै नेपाल प्रहरी शिक्षालय, आँपटारी, पोखरा बसपार्क, पुलचोक, लायन्स चोक, सिएमसी, चौविसकोठी, भरतपुर विमानस्थल, हाकिमचोक, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ, निपनी, टाँडी हुँदै सौराहामा पुगेर समापन हुनेछ ।
यस पटकको नेपाल प्रिमियर लिग मंसिर १ गतेदेखि सुरु हुने र २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ । प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो ।
दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ र सबै टोलीले आफ्नो अन्तिम स्क्वाड तयार गरिसकेका छन् । एनपीएलका खेलहरू देशका विभिन्न मैदानहरूमा आयोजना गरिनेछन् भने यसपटकको संस्करणमा पूर्वाधार, प्रसारण र दर्शक व्यवस्थापनमा विशेष सुधार गरिएको आयोजकको दाबी छ ।
