Chitwan Aawaj

२०८२ मंसिर २४ गते

बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, ३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरी देशभर श्रद्धा र उल्लासपूर्वक मनाइँदै छ ।

कुकुर तिहार बिहान
आज बिहान देशभर कुकुर तिहार मनाइँदै छ । यमराजका ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरहरूको सम्झनामा कुकुर तिहार मनाइने धार्मिक मान्यता छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजका ती द्वारपालले मृत्युपश्चात् यमलोक पुग्दा बाटो छोडिदिन्छन् भन्ने विश्वास छ ।

महाभारत अनुसार धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने कुकुर धर्मकै प्रतीक मानिन्छ । त्यसैले कुकुरलाई आज्ञापालक, निष्ठावान् र सुरक्षाको प्रतीक जनावरका रूपमा पूजा गर्ने परम्परा छ । आज घरघरमा कुकुरलाई फूल माला लगाइन्छ, टीका लगाइन्छ र मीठा खानेकुरा खुवाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार तिहारको तेस्रो दिन परेको हो । समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी परेको दिन मनाउनुपर्ने शास्त्रीय नियम छ ।

यसै अवसरमा बिहानै तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरी दक्षिण फर्काएर यम दीप बाली बगाउने परम्परा पनि रहेको छ, जसलाई “नरक चतुर्दशी” भनिन्छ । यसो गरे मृत्युपश्चात् नरकको दर्शन गर्न नपर्ने धार्मिक विश्वास छ ।

साँझ लक्ष्मी पूजा
साँझपख भने ऐश्वर्य, धन–धान्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । बिहानैदेखि घरघरमा सरसफाइ, लिपपोत र दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा रहँदै आएको छ ।

घरको आँगनदेखि मूल ढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी, चामलको पीठो र अबिरले लक्ष्मीका पाइला कोरिन्छ । दीप प्रज्वलन गरी घर झिलिमिली बनाइन्छ । त्यसपछि पूजा कोठामा गणेश र कलशसहित लक्ष्मी स्थापना गरी सुनचाँदीका गहना, पैसा, धान, फलफूल, फूल माला र सेल रोटी चढाइन्छ । पूजा पछि कन्या केटी वा छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने प्रचलन छ । धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार मध्यरातमा घरकी नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि पनि छ ।

आज साँझ युवतीहरू समूह बनाएर घरघरमा “भैलो” खेल्ने गर्छन् । भगवान् विष्णुले बलिराजलाई घरघरमा “भलो होस्” भन्ने गीत गाउन लगाएको सम्झनामा यो परम्परा सुरु भएको हो । “भलो” शब्द पछि अपभ्रंश भई “भैलो” बनेको मानिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूल माला र सेल रोटी दिने चलन छ, जसलाई कात्तिक महिनाको पुण्य दान मानिन्छ ।

धर्म र स्वास्थ्य दुवै दृष्टिले तिहार महत्त्वपूर्ण पर्व मानिन्छ । आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्पराले शरीरलाई स्वस्थ राख्ने लाभ प्रदान गर्छ ।

यसरी आज देशभर बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरी उज्यालो, श्रद्धा र रमाइलो वातावरणमा तिहारको तेस्रो दिन मनाइँदै छ ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.