कञ्चनपुर, ४ कात्तिक । घरका चारैतिर उज्यालो, टोलभरि देउसी भैलोको स्वर गुन्जिरहेको थियो। तर, भीमदत्त नगरपालिका ३, चौधरी मार्गको एउटा घरमा त्यस रात न दीप जलेको थियो, न गीत बजेको। आमाबुवा एक कुनामा मौन थिए, अर्को कुनामा विपिन जोशीको शवसहितको कफिन राखिएको थियो।
लक्ष्मीपूजाको दिन, फ्लाइ दुबईको एफजेड ५३९ नम्बरको उडान काठमाडौँ अवतरण गर्यो। जहाजले धेरैलाई खुसीको साथ स्वदेश ल्यायो, तर जोशी परिवारलाई दुःखको सन्देश। त्यही फ्लाइटले विपिनको शव ल्याएको थियो। धनगढी विमानस्थलमा नेपाली सेनाको स्काइ ट्रकले शव झार्यो, त्यसपछि राति ७:५० बजे विपिन घर फर्किए तर कफिनमा। आमा पदमा जोशीले छोराको अनुहार देख्ने बित्तिकै डाको छोडिन्। वरिपरिका सबैको आँखामा आँसु थियो। घरको आँगनमा शान्ति होइन, पीडाको स्वर गुन्जियो।
सन् २०२३ मा कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका विपिन हमासको आक्रमणमा घाइते भएका थिए। किब्बुज आलुमिमा भएको आक्रमणपछि उनी अपहरणमा परेका थिए। दुई वर्षपछि, सन् २०२५ अक्टोबर १५ मा इजरायल सरकारले उनको मृत्युको पुष्टि गर्यो। भोलि मङ्गलवार महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्।
तिहारले देशभर उज्यालो ल्याउँदा, कञ्चनपुरको जोशी परिवार भने अन्धकार र नरोकिने रुवाइमा डुबेको छ त्यो उज्यालो, जसको प्रतीक्षा अब विपिनका आमाबुबाले सायद कहिल्यै गर्दैनन्।
