Chitwan Aawaj

२०८२ मंसिर २४ गते

मङ्सिरमा हुने एनपीएलका लागि चितवन राइनोजद्वारा तीन विदेशी खेलाडी सार्वजनिक

चितवन, ४ कार्तिक। मङ्सिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी अन्तर्गत फ्रेन्चाइज टिम चितवन राइनोजले आज तीन जना विदेशी खेलाडी सार्वजनिक गरेको छ । ट्रफी टुर कार्यक्रमअन्तर्गत सौराहामा आयोजित कार्यक्रममा ती खेलाडीहरूलाई औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

क्यानका अनुसार यस पटकको एनपीएल मङ्सिर १ गतेदेखि सुरु हुने र २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । राइनोजले दोस्रो संस्करणका लागि इंग्ल्यान्डका स्टार खेलाडी डेभिड मलानलाई आबद्ध गरेको छ । मलानले १० हजारभन्दा बढी टि–२० रन बनाएका छन् र उनी पूर्व टि–२० विश्व नम्बर–१ ब्याटर हुन् । सन् २०२२ को टि–२० विश्वकप विजेता समेत रहेका मलानको आगमनले टिममा नयाँ ऊर्जा र जितको विश्वास थपेको राइनोजको भनाइ छ ।

यस्तै पहिलो संस्करणमा आबद्ध भएका इंग्ल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तनभिरलाई पनि दोस्रो संस्करणका लागि पुनः टिममा समावेश गरिएको छ । बोपाराले पहिलो सिजनमा राइनोजका लागि सर्वाधिक २८६ रन बनाउँदै टोलीलाई प्लेअफसम्म पुर्‍याएका थिए । उनको क्लासिक ब्याटिङ शैलीले चितवनका फ्यानहरूलाई आकर्षित गरेको थियो ।

तनभिर अघिल्लो सिजनमा १४ विकेटसहित राइनोजका प्रमुख बलर बनेका थिए । यस सिजनमा पनि बलिङ आक्रमणको नेतृत्व उनले गर्नेछन् । यी तीन विश्व स्तरीय खेलाडीहरूको आगमनले राइनोजलाई एनपीएल उपाधिका प्रमुख दाबेदार बनाएको मुख्य प्रशिक्षक कालम अलीले बताए । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिशचन्द्र न्यौपानेले तीन विदेशी खेलाडी घोषणाले विश्व स्तरमा चितवन राइनोजलाई चिनाएको बताए । उनले भने– “क्रिकेट नेपालमा खुसीको कारण बनेको छ । हामी एनपीएलको दोस्रो सिजनलाई अझ भव्य बनाउन काम गर्दछौँ । आजको घोषणा चितवन राइनोजलाई विश्व स्तरमा उत्कृष्ट फ्रेन्चाइजका रूपमा स्थापित गर्ने हाम्रो यात्राको अर्को कदम हो ।”

त्यस्तै राइनोजका प्रमुख कार्यकारी अधिकृत डा. आशिष खड्काले आजको कार्यक्रमले चितवन राइनोजलाई थप विशेष बनाएको बताए । उनले भने– “ट्रफी टुरप्रति देखिएको प्रतिक्रिया साँच्चै उत्साहजनक छ । आजको ‘फेस अफ रायनोज’ र खेलाडी घोषणा कार्यक्रमले यस सिजनलाई थप विशेष बनाएको छ ।” राइनोजका निर्देशक प्रताप देवकोटाले यस पटक टिमको मुख्य लक्ष्य उपाधि जित्ने रहेको बताए । उनले भने– “ऊर्जा र सकारात्मकता दुवै अद्भुत छन् । टोलीभित्रको आपसी सम्बन्ध र समर्पण नै हाम्रो बल हो, र यस पटक उपाधि चितवन ल्याउने हाम्रो विश्वास बलियो छ ।”

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.