काठमाडौँ,४ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ई(हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो । सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ । मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिनुभएको छ । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई-हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो ।
“डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उहाँको विश्वास छ । बञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट बञ्चित हुनसक्ने र प्रविधिको दुरुपयोग रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
“गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँँच पुर्याउने अभिभारा हामीले लिएका छौँ । र यसलाई पूरा गर्न सबै किसिमको उपाय र प्रविधिको अवलम्बन गर्ने नीतिको व्यवस्था छ”, उहाँले भन्नुभयो । उहाँले स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गरी डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नु भविष्यको चुनौती रहेको धारणा राख्नुभयो ।
सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुनु विकल्परहित भएको अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको उहाँको भनाइ छ । मन्त्रालयले डिटिजल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले यसको नियमन, विकास र विस्तारमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने सरकारी निकाय, साझेदार संस्था, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न आह्वान समेत गरेको छ ।
सन् २०२१ को सूचना जनगणनाका अनुसार झण्डै ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाइल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारमा इन्टरनेटमा पहुँँच छ । यस्तै, ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढिरहेको देखिएको मन्त्रालयको भनाइ छ ।
उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पु¥याउने अभिभारा मन्त्रालयले लिएको बताउनुभयो । उहाँले यसलाई पूरा गर्न सबै किसिमका उपाय र प्रविधि अवलम्बन गर्ने नीति रहेको स्पष्ट पार्नुभयो । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनले दिएको ई हेल्थको अवधारणालाई अवलम्बन गर्दै सोको बिस्ताररित रुप डिजिटल हेल्थको कार्यान्वयको चरणमा पुगेको उहाँको भनाइ छ ।
उहाँका अनुसार डिजिटल हेल्थलाई स्वास्थ्यक्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीहरुको व्यवसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएको छ । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामिल हुन विकल्परहित भएको अवस्थामा अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमश सूचना प्रविधिको दायरा बढाउन मन्त्री बस्नेतले आग्रह गर्नुभयो । रासस