ज्योतिनगर, १८ श्रावण । भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा रहेको कालिका मन्दिरलाई प्राचीन मन्दिरको रुपमा लिइन्छ । भनिन्छ, पौराणिक कालमा पाण्डवहरुले यहाँ मन्दिर बनाउन लगाएका थिए । यस स्थलमा ४ वटा माटोको ढिस्का अर्थात् स्तुपाजस्तो थियो ।
धार्मिक पहिचान बोकेका आदिवासी थारु जातिहरुले २०१९ सालदेखि नै चितवनभरिका गुरौहरु जम्मा भएर पूजा गर्ने गरेको र विक्रमबाबाजस्तै लाग्ने मेलामा कुखुरा तथा पाठाहरु बलि दिने गरिएको थियो । पछि थारुहरु विस्थापित हुँदै जाँदा पूजा छोड्दै गएको इतिहास रहेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ घिमिरेले बताउँनु भयो ।
यहाँ पहिला अर्थात् २०२४ सालमा कालिका देवीको मन्दिर गुम्बज शैलीको सानो थियो । थारु समुदायका जनजातिहरुले आफनो संस्कृतिअनुसार भौलो राखेर जेठ महिनामा पूजा–अर्चना गर्दथे । हाँस, कुखुरा, परेवा, भेडा, बाख्राको बलि दिएर गुरहु पूजासमेत गर्ने गर्दथे । हाल प्राचीन कालिका देवीको मूर्तिलाई निकै नै सुरक्षितका साथ राखिएको छ ।
यस धार्मिकस्थलमा प्रत्येक वर्ष धार्मिक पुराण लगाइन्छ । हालसम्म ३४ वटा पुराण सम्पन्न भइसकेको अध्यक्ष घिमिरे बताउँछन् ।
मन्दिरभित्र जाँदा दायाँ र बायाँ लहरै विभिन्न देवीदेवताहरुको मूर्ति रहेका छन् । मध्य भागमा ठूलो कालिका देवीको मूर्ति रहेको छ भने त्यही मूर्तिको तल सानो प्राचीन कालिकादेवीको मूर्ति छोपेर राखिएको छ । कालिका देवी मन्दिरको अगाडि १०८ शिवलिङ्ग रहेका छन् । त्यहाँ शिव भगवान्को मूर्ति, बसाहा आदि रहेका छन् । मन्दिर परिसरमा मण्डप, पूजारी बस्ने घर, भजन मण्डल आदि रहेका छन् ।
कालिका मन्दिर इलाकालाई त्यस समयमा ‘गुरौथान’ भनेपछि नचिन्ने कोही थिएनन् । गुरौथान क्षेत्रभित्र ठाउँ–ठाउँमा आदिवासी थारु सम्प्रदायका मानिसहरुले ६/६ मिटर व्यास र २/२ मिटर उचाइ भएका माटोका थुम्काहरु बनाएका थिए । त्यस्ता थुम्काहरुका बारेमा सोधपुछ गर्दा बूढापाकाहरु र थारु परिवारका हजुरबा पिँढीकाहरुले पनि त्यसको इतिहास र प्राचीन तथ्यलाई यकिनसाथ भन्न सकेनन् ।
उनीहरुभित्र रहेको बेखबर र अन्जान गुरौथान इलाकामा उभिएका ती पाँचवटै थुम्काहरुले प्राचीन थारुहरुको अज्ञात, तर समृद्ध सम्पदाको धरोहरलाई अवश्य प्रतिबिम्बित गरिरहेजस्तो लाग्ने स्थानीय ऋषिराम घिमिरे बताउँछन् । मन्दिरको नजिकै ऐतिहासिक अन्जना ताल सडककिनारमा नै छ । स्थानीयवासीका अनुसार, यस तालको पानी आजसम्म सुकेको थाहा छैन, र सुक्दा पनि सुक्दैन भन्ने जनविश्वास रहेको छ ।
पहिला पातलो बस्तीका कारण तालमा विभिन्न प्रकारका चराचुरूङ्गी, जनावरहरु बस्ने गर्थे । बजार बढ्दै गएपछि पहिलाजस्तो चराचुरूङ्गी, जनावरहरु बस्ने कुरै भएन । प्राकृतिकरुपमा सुन्दर हरियाली रहेकोले अवलोकन गर्न आउनेहरुका लागि यसले थप शीतलता प्रदान गरेको छ । अन्जना ताल जैविक हिसाबले पनि मह¤वपूर्ण मानिन्छ ।
मानवबस्तीहरु बढ्दै गएर वन्यजन्तुहरु देखिन छाडेपछि यस तालमा स्थानीय थारुहरुले माछा मार्ने, घर लिपपोत गर्नका लागि माटो निकाल्ने, गाईगोरूलाई पानी खुवाउनेबाहेक अन्य प्रयोजन गरिएको थिएन । पछिल्ला दिनहरुमा वडा कार्यालयको सक्रियतामा तालको संरक्षण गरिएको छ ।
यसलाई निरन्तरता दिन सकेको खण्डमा महत्वपूर्ण गुरौथान तथा हालको कालिका मन्दिरको नजिकै रहेको यस ताल स्थानीय तथा बाह्य धार्मिक पर्यटकहरुको पनि रोजाइ बन्न सक्ने बताउँछन्, ज्योतिनगरका स्थानीय बासिन्दा भूपालनाथ कँडेल । पश्चिम चितवनको धार्मिक र ऐतिहासिक धरोहरको रुपमा स्थापित भइसकेको कालिका मन्दिरको ५ सय जनाभन्दा बढी सदस्य रहेका छन् । सो मन्दिर ८ कट्ठा क्षेत्रफलमा रहेको छ ।
मन्दिर पूर्वमन्त्री स्व। जमानसिंह गुरूङ, प्रमुखअतिथि महेश्वर घिमिरेलगायतको पहलमा निर्माण भएको थियो । यो मन्दिर पश्चिम चितवनको धार्मिक र ऐतिहासिक धरोहरका रुपमा स्थापित भइसकेको छ । विसं २०२७ सालमा स्थापना भएको मन्दिरमा विभिन्न समयमा भागवतलगायतका धार्मिक अनुष्ठानहरु हुने गर्दछन् । चितवन पोष्ट