भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ । बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो ।