चितवन-२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं, १७ फागुन  । चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा  निर्धारण  गरेको  थियो  ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय  स्वतन्त्र पार्टीका  सभापति  रवि  लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।

उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल  अर्गनाइजेसन, राष्ट्रिय  नागरिक  पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेले  भाग लिने गरी दल दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी,  पुनर्जागरण  पार्टी,  मौलिक  जरो किलो पार्टी दर्ता भएका छन् । त्यस्तै  राष्ट्रिय  मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस बीपी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले पनि दल दर्ता गराएका छन् ।