भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबिचको खेल देखाउने

चितवन । भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ ।

टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राति भरतपुरको गेष्ट हाउस चौरमा देखाउन लागेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिएकी छिन् ।

क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ । खेलको प्रसारण राती ९ः१५ बजे सुरु हुनेछ ।