भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न पश्चिम चितवनमा साइकल यात्रा 

भरतपुर,१ असार । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न र स्वास्थ्यको लागि साइक्लिङ भन्ने नाराका साथ दक्षिण एसियाका युवाहरू नेपालले पश्चिम चितवनमा साइकल यात्रा कार्यक्रमको शुभारम्भ गरेको छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख अधिकारीले आयोजक प्रति धन्यवाद दिनु हुँदै  यो साइकल यात्राले पश्चिम चितवनको र समग्र भरतपुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय बासिन्दाहरूमा स्वास्थ्य प्रति जागरुता बढाउन उदाहरण हुने बताउनुभयो । अधिकारीले भन्नुभयो, नियमित साइक्लिङले मुटु रोग, मधुमेह र मोटोपना जस्ता समस्याहरूको जोखिम कम गर्न मद्दत गर्छ। यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।
त्यस्तै कार्यक्रम निर्देशक कृष्ण प्रसाद ढकालले यो अनुभव अद्भुत रहेको बताउनु हुँदै  हामीले आफ्नो सहरको सुन्दरता नजिकबाट देख्न पाएका र  शारीरिक व्यायाम पनि गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।उहाँले पर्यटकहरूलाई आकर्षित गर्न र स्थानीय व्यवसायहरूलाई बढवा दिन यसले ठुलो भूमिका रहने बताउनु भयो।
कार्यक्रम तीन दिनसम्म चल्ने भएको छ । पहिलो दिनको यात्रा आज पश्चिम चितवनको भरतपुर वडा नम्बर २० बाट सुरु भएर वडा नम्बर २८ को गोलाघाटमा पुगेर समापन भएको थियो। कार्यक्रममा भरतपुर २० का वडाध्यक्ष  मुक्ति प्रसाद घले, भरतपुर १८ का वडा अध्यक्ष बाबुराम राना,भरतपुर १८ का जनप्रतिनिधि दिलु गजमेर,समाजसेवी विष्णु ढकाल, रेडक्रस चनौली उपशाखाका सभापति ओम प्रकाश लामिछाने,रेडक्रस उपशाखाका सभापति हरि राज अर्याल र भिमनगर माविका अध्यक्ष लोकेन्द्र गुरुङ लगायत अतिथिहरू उपस्थिति रहेको थियो । कार्यक्रमलाई सर्वहित पण्डितले सहजीकरण गर्नुभएको थियो ।
आगामी दुई दिनमा साइकल यात्राले भरतपुरका अन्य क्षेत्रहरू समेट्ने योजना आयोजकले गरेको छ ।  यसले सहभागीहरूलाई सहरका विभिन्न ऐतिहासिक स्थल, सांस्कृतिक केन्द्र र प्राकृतिक आकर्षणहरू भ्रमण गर्ने मौका प्रदान गर्नेछ। यात्रामा विभिन्न उमेर समूहका करिब ३५ जना साइकल यात्रीहरूले भाग लिएका थिए ।