विश्व योग दिवसमा युवा क्लब द्वारा वक्तव्यकला प्रतियोगिता सम्पन्न

भरतपुर, ७ असार । विश्व योग दिवसको अवसरमा शुक्रनगरमा विद्यालय स्तरीय वक्तव्यकला कार्यक्रम सम्पन्न भएको छ । वडा युवा क्लब भरतपुर २५ को आयोजना एवम् वडा बाल क्लब भरतपुर २५ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

“महिला पुरुषको सशक्तीकरणका लागि योग आजको आवश्यकता” शीर्षकमा आयोजित यस कार्यक्रममा स्थानीय विद्यालयका १७ विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर २५ का वडाध्यक्ष छविलाल सापकोटाले योग र लैङ्गिक सशक्तीकरण जस्ता महत्त्वपूर्ण विषयमा विद्यार्थीहरूको दृष्टिकोण प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यो कार्यक्रमले योगको परम्परागत मूल्यहरूलाई वर्तमान सामाजिक आवश्यकताहरूसँग जोड्दै, यसको व्यापक र दूरगामी प्रभावलाई रेखाङ्कित गरेको छ। यसले समाजका सबै वर्ग र लिङ्गका व्यक्तिहरूलाई योग अपनाउन र यसबाट लाभ लिन प्रोत्साहित गरेको छ ।”

प्रतियोगितामा मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी पुनम न्यौपानेले प्रथम स्थान हासिल गरिन् । जनज्योति पद्यनारायण धर्मकुमारी मल्ल मा.वि.का भानु अधिकारी र राष्ट्रिय आधारभूत मा.वि. शोशीकी एलिना न्यौपाने क्रमशः दोस्रो र तेस्रो भए । जनज्योति विद्यालयकै प्रतीक पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा डोलराज तिवारी र डमराज बस्याल रहनुभएको थियो । कार्यक्रममा गजलकार मान प्रसाद अधिकारीले गजलको तर्फ बाट योगको आवश्यकता र महत्त्व बारे प्रकाश पार्नुभएको थियो । क्लबका अध्यक्ष दीपिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलका प्रअ नवराज भट्ट, गोल्डेन फ्युचर एकेडेमीका योग प्रशिक्षक शरण अर्याल, राष्ट्रिय आधारभूत विद्यालय लेवरनगरका शिक्षिका शान्ति तामाङ लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा बाल क्लब भरतपुर २५ का अध्यक्ष विवेक थोकर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने युवा क्लबका सचिव विनोद अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।