माडीमा रक्तदान कार्यक्रम: एक घर एक रक्तदाता अभियान

चितवन, १७ असार । चितवनको माडी नगरपालिकामा रहेको वसन्तपुर बजारमा असार १८ गते मङ्गलवार रक्तदान कार्यक्रम हुने भएको छ। ब्लड डोनर्स सोसाइटी चितवन र माडी नगर योग समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।

“अभियान तपाईँ हामी सबैको साझा, सङ्कल्प एक घर एक रक्तदाता” भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने रहेको छ। कार्यक्रम बिहान ७:०० बजेदेखि सुरु हुनेछ।

ब्लड डोनर्स सोसाइटी चितवनका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीका अनुसार रक्तदान कार्यक्रम पश्चात् संस्थाको माडी नगर कमिटी पनि निर्माण गरिनेछ। यसले स्थानीय स्तरमा रक्तदान अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यस पहलले माडी क्षेत्रमा रक्तदानको महत्त्व बढाउनुका साथै आपत्कालीन अवस्थामा रगतको उपलब्धता सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। स्थानीय समुदायलाई रक्तदानमा सहभागी हुन र यस कार्यमा योगदान पुर्‍याउन आह्वान गरिएको छ।