भरतपुर महानगरपालिकाद्धारा ७ सय ७६ जना छोरीको बीमा

चितवन– भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गर्ने ७ सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।

महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो ।

बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम रु ५० हजार बाल उमङ्ग बीमाका लागि प्रदान गर्ने छ । उनले भनिन्, “पन्ध्रवर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।’ पन्ध्र वर्षपछि ती बालिकाले रु एक लाख पाउने उहाँले बताउनुभयो । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी रु २५ लाख ७७ हजार आठ सय ६२ बीमा कम्पनीलाई बुझाएको छ ।