आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

आयुर्वेदिक औषधि

ढोरपाटन, १८ फागुन । कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको सङ्ख्या निकै कम थियो । जब विश्वभर महामारीका रुपमा कोरोना सङ्क्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधि लिने बढेको आयुर्वेदालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेको सूचना अधिकारी एकराज ढुङ्गानाले बताउनुभयो । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथलगायतका समस्या भएका बिरामी आयुर्वेद यहाँ आउने गरेको ढुङ्गानाको भनाइ छ । आयुर्वेद औषधिमा विश्वास कम गर्ने पनि लामो समय नियमित आयुर्वेदिक औषधि खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । सूचना अधिकारी ढुङ्गाना भन्नुहुन्छ, “पहिलेको तुलनामा पछिल्लो समय औषधालयमा आउने बिरामीको सङ्ख्या निकै बढेको छ, आयुर्वेदिक औषधिप्रति नागरिकको विश्वास बढेकै कारण यहाँ आउनेको सङ्ख्या बढेको पाइन्छ, आउने बिरामीलाई आयुर्वेदबारे परामर्श र उपयोगिताबारे जानकारी दिने गरेका छौँ ।”

धौलागिरि आयुर्वेदिक अस्तालमा आउने बिरामीको तीन वर्षे तथ्याङ्क हेर्दा सबैभन्दा बढी कोभिड–१९ पछि आउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात हजार एक सय ५४ जना बिरामीले सेवा लिएका छन् भने २०७७÷०७८ मा त्यो सङ्ख्या बढेर १२ हजार पाँच सय ८३ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भने सेवा लिनेको सङ्ख्या बढेर १६ हजार दुई सय ४७ जना पुगेको छ ।

चालु आर्थिक वर्षको हालसम्म सात हजार चार सय ३० जना बिरामीले सेवा लिएका छन् । यस वर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार तीन सय २० जना बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ ६१ जना, कार्तिकमा आठ यी ५१ जना, मङ्सिरमा आठ सय ८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएको औषधालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिनुभयो । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायतका विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय दैनिक ३०÷३५ जना बिरामी औषधालयमा आउने गरेको डाक्टर रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । डाक्टर राय भन्नुहुन्छ, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, जनचेतनाको वृद्धिका कारण पछिल्लो समय आयुर्वेद्ध औषधि प्रयोग गर्ने बिरामी बढ्ने भएको छ, सरकारले पनि यसलाई थप प्राथमिकता दिएको छ ।” जिल्लाको बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरे सेवा प्रदान भइरहेको छ ।