नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं, १८ फागुन । अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्नेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगताबाट शीर्ष दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।