स्थानीय उत्पादनले मूल्य पाएपछि किसानलाई राहत

चितवन, १७ फागुन । पटक–पटकको कृषि आन्दोलनले चितवनका किसानलाई केही राहत मिलेको छ । भरतपुर १६ विजयनगरका किसान धनु अधिकारीले स्थानीय उत्पादनले मूल्य पाउन थालेको भन्दै खुशी व्यक्त गरेकी छिन् । १० बिगाहा खेतमा तरकारी खेती गरिरहेकी उनी भन्छिन्, ‘किसानले उत्पादन गरेको तरकारीले बजारको समस्या बेहोर्नु नपरे भारतीय तरकारीको भर पर्नुपर्दैन ।’

माघ २० गते नारायणगढको पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तरकारी फालेर र फागुन १२ गते कालो बेलुन उडाएर चितवनका किसानले आन्दोलन गरेका थिए । किसानले बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको अन्तर थोरै हुनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने र भारतीय तरकारी आयात रोक्नुपर्ने उनीहरूको माग थियो । किसान आन्दोलनपछि त्यसबेला ५ रुपैयाँ किलोमा नबिकेको गोलभेँडा अहिले २८ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । नेपालमा खेतीयोग्य जमिन बाँझो राखेर भारतीय तरकारी किन्न पर्ने समस्याको अन्त्य गर्न भएको किसान आन्दोलनले सकरात्मक प्रभाव पारेको स्थानीय कृषक अधिकारीले मध्यान्हसँग बताइन् । स्थानीय उत्पादनले लगानी अनुसारको मूल्य पाए आन्दोलन गर्न पर्ने अवस्था नै नआउने अधिकारी बताउँछिन् ।

नेपाली बजारको माग स्वदेशी उत्पादनले नै धान्न सक्ने उनको दाबी छ । तर नेपालमा ४० देखि ५० प्रतिशतसम्म तरकारी भारतबाट आयत हुँदा नेपाली बजारले मूल्य नपाएको कृषकहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई सहयोग गरेमा व्यापार घाटा आधा घट्न सक्ने अधिकारीको अनुमान छ । त्यसका लागि नेपाली किसानको मुद्दालाई लिएर सरकार सकारात्मक हुनुपर्ने उनी बताउँछिन् ।

देशमै केही गर्छु भन्ने कृषकलाई अनुदान दिनु पर्ने कृषकहरुको माग छ । कुषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेकाअनुसार जिल्लामा दैनिक ५ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लामा खपत हुने एक सय २५ मेट्रिक टन बाहेकको तरकारी काठमाडौं, पोखरा र हेटौँडा लगायतका शहरमा पठाइन्छन् ।

सरकार किसानका समस्या दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको पाण्डेको दाबी छ । किसान आन्दोलनपछि त्यसको वैकल्पिक उपाय खोज्न कृषकहरुसँग निरन्तर छलफल भएको पाण्डे बताउँछन् । देशमा कृषियोग्य जमिन बाझो राख्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग आवश्यक छलफलसमेत भएको पाण्डेले जानकारी दिए । विनोद अधिकारी/मध्यान्ह