हुन त बाढिपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । “हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन”, ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भन्नुभयो ।
बाढीपहिराले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ । विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटर्वक नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । “यहाँ धेरै नै दर्दनाक अवस्था छ । सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन । जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन । त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन”, उपाध्यक्ष गोलेले समस्या व्यक्त गर्नुभयो ।
छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नं २ विपद्बाट प्रभावित भयो । यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ । “प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरु पनि छन् । उहाँहरूसँग अब केही बाँकी छैन । उहाँहरुलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ । दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ । आवतजावतका लागि गाउँपालिकाले मर्मसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ”, उपाध्यक्ष गोलेले भन्नुभयो, “गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन । सङ्घ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ । जेनतेन बाटो खुलाइएकाले अब सहयोगी सङ्घसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।”
यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताउनुभयो । “खोनपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ”, उहाँद्वारा सहयोगका लागि जारी गरिएको अपिलमा भनिएको छ, “विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन । विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ ।”
यस गाउँपालिका क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् । विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।
यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ । सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर दसैँअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । “अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ । तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं । बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गर्छौं ।”
बाढीपहिरोका कारण यस नगरपालिका– वडा नं ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ । विपद्का कारण २० जनाको मृत्यु भएको छ । वडा नं ७ मा अझ बढी समस्या छ । यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ । “यो पालिका पहाडी भूभागसँग जोडिएको छ । दुर्गम ठाउँ छ । विगतदेखि नै पहिरोको जोखिम रहेका स्थानमा यसपटक निकै क्षति भयो । बाटोघाटा अवरुद्ध छन्”, उपप्रमुख अधिकारीले भन्नुभयो, “शुक्रबारदेखि प्रायः जस्तो वडामा ‘ट्र्याक’ खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन् । कतिपय वडामा सडक अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ । टीकाभैरवको अवस्था नाजुक छ । घर, विद्यालय, पुललगायत सडक पहिराले क्षतिग्रस्त छ ।”
यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ । रासस