उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

काठमाडौँ, ८ वैशाख । यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहनुभएको छ ।

संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन निर्देशन दिनुभयो । सो अवसरमा निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो । उक्त संयन्त्र यही वैशाख ११ गतेसम्म कायम रहनेछ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।