चितवनमा उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

चितवन, ८ बैशाख  । चितवनमा हुन गइरहेको उपचुनावका दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ। चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपीठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ। वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने प्रालिले जनाएको छ। चितवन २ सहित तनहुँ १ र बारा २ मा वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन हुँदै छ।