उपनिर्वाचनका दिन स्थानीय रुटका सवारी साधान आवागमन बन्द

चितवन, ८ वैशाख ।  वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य सबै सवारी साधनहरु संचालनमा रोक लगाइएको हो । लामो दुरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरि केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनहरुलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनहरु, एम्बुलेन्स, स्वास्थयकर्मी, पत्रकारका सवारी साधनहरु मात्र संचालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।