तनहुँमा स्वर्णिमले पाए एमालेको धेरै मत

तनहुँ, ११ वैशाख । आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्।

अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यसपालि आफूतिर तानेका छन्।

मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्रतिशत मत पाएका थिए भने अहिले खनालले १५ प्रतिशत मत मात्र पाइरहेका छन्।

त्यतिबेला कांग्रेस र एमालेबीचको मतान्तर कम थियो। त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेलले २५३६१ मत पाएका थिए भने एमालेका रानाले १९९८१ मत पाएका थिए।

अहिले एमालेका सर्वेन्द्र खनालले कांग्रेसका गोविन्द भट्टराईभन्दा झन्डै आधामात्र मत ल्याएका छन्। प्राप्त पछिल्लो मत परिणामअनुसार भट्टराईले ५ हजार मत ल्याउँदा खनालले झन्डै २८ सय मत पाएका छन्।

अहिलेसम्म मतगणना भएका वडाहरूको मतलाई र गत स्थानीय तहमा वडा अध्यक्षहरूले ल्याएको मतलाई आधार मान्ने हो भने एमालेको धेरै भोट वाग्लेलाई गएको छ।

जस्तो, एक वर्षअघि आँबुखैरेनी-१ मा एमालेले ३ सय ५१ मत ल्याएको थियो। तर अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५४ मत मात्रै पाएका छन्। जबकी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ सय ६५ मत ल्याएका छन्। स्थानीय तहको निर्वाचनमा यो वडामा कांग्रेसले ४ सय १५ मत ल्याएको थियो। रास्वपाका वाग्लेले १ हजार ६५ मत ल्याएका छन्।

यो वडामा वडा अध्यक्ष भने माओवादी केन्द्रले जितेको थियो। वाग्लेले माओवादी सहित सबै पार्टीको भोट पाएका छन्। माओवादी मतदाताले गठबन्धनका उम्मेदवार भट्टराईलाई भोट नदिएर वाग्लेलाई दिएको प्रष्ट हुन्छ।

एमालेले वडा अध्यक्ष जितेको आँबुखैरेनी-६ मा एमाले उम्मेदवार खनालले १ सय ३० मत पाएका छन्। जबकी एक वर्षअघि एमालेका वडा अध्यक्ष उम्मेदवारले ३ सय ९० मत ल्याएका थिए।

यहाँ कांग्रेसका भट्टराईले २ सय ५९ मत ल्याएका छन्।

भानु-३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय १६, कांग्रेसका भट्टराईले ४ सय १८ र एमालेका खनालले ३ सय ५१ मत पाएका छन्।

यो वडामा एमालेले स्थानीय तहमा ६ सय ९ भोट पाएको थियो भने कांग्रेसले ९ सय ८ मत पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *