आज लोकतन्त्र दिवस

काठमाडौं,११ बैशाख ।  सोमबार लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६२/६३ सालको जनआन्दोलन सफल भएको अवसरमा लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६१ माघ १९ पछि आफैं सक्रिय शासन थालेका तत्कालीन राजा ज्ञानेन्द्र शाहका विरुद्ध ७ दल र युद्धरत नेकपा माओवादीले २०६२ चैत २४ देखि जनआन्दोलन सुरु गरेका थिए। त्यसले २०६३ वैशाख ११ गते सफलता पाएको थियो।

वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले गरेको घोषणामा २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधि सभालाई पुनःस्थापित गरिएको उल्लेख थियो।

‘… २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणामार्फत् पुनःस्थापित गरिबक्सेका छौँ,’ ज्ञानेन्द्रको घोषणामा भनिएको थियो।

सोही घोषणामा उनले पुनःस्थापित प्रतिनिधि सभाको बैठक २०६३ वैशाख १५ गतेका लागि बोलाएका थिए।

प्रतिनिधि सभा पुनःस्थापित भएपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। उनी नेतृत्वको सरकारले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको थियो।

लोकतन्त्र आएको १७ वर्ष पूरा हुँदा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाइसकेको छ। २०६३ जेठ ४ को प्रतिनिधि सभाको घोषणा र त्यसमार्फत् गरिएको धर्मनिरपेक्षताको घोषणा, २०६५ जेठ १५ गते गणतन्त्र घोषणा, २०७२ असोज ३ गते संविधान घोषणा र त्यसमार्फत् अपनाइएका विविध प्रणाली यसबीचका उपलब्धिको रुपमा लिइन्छ।