पार्टी विरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भयोः देउवा

काठमाडौं, १३  वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् । संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण बढेको सहभागी एक सांसदले बताएका हुन् ।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका हुन् । सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो ।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।

‘गोविन्द भट्टराई सांसद नभए पनि क्षेत्रमा विकासका कार्यमा सधैं लागिरहनुभएको छ,’ बैठकमा उठेका विषयबारे एक सांसदले भने, ‘६७÷६८ स्थानमा पानी खुवाएको व्यक्तिलाई हराइयो ।’

विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण भएको चिन्ता बैठकमा गरिएको ती सांसदले सुनाए । नयाँ दलले गरेको प्रचार अभियानका अगाडी कांग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरुले सुनाएका थिए ।