सिङ्गो देश परिवर्तनको पक्षमा: सभापति लामिछाने

चितवन, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो ।

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो । सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताउनुभयो ।

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो । उहाँले प्रतिस्पर्धी उम्मेदवार र उहाँका मतदातालाई समेत आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।” नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उहाँको भनाइ थियो ।