बिजुलीको तार भूमिगत गर्ने कार्यको मेयर दाहालद्वारा निरीक्षण

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण गर्नुभएको छ ।

भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । भरतपुरकी मेयर दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भइरहेको कार्य प्रगति र काम भइरहेको स्थानबारे जिज्ञासा राख्नुभएको छ । अहिले ६ लेन सडक र बाइपास सडकमा धमाधम काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो। दाहालले विद्युत् बितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने विचार राख्नुभयो ।

भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । आयोजनाका इञ्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिनुभयो । विदेशबाट सामान आएकाले अब हुने काम सहज ढंगबाट अघि बढ्ने सुवेदीले बताउनुभयो ।

भरतपुर विद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतीय प्रणालीले सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताउनुभयो ।