ओली माथिको आक्रमणमा पूर्वराजपरिवारलाई मुछ्नु संवेदनशील विषय हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई लिएर जवाफ फर्काएका छन् । झापामा आफूमाथिको आक्रामणको प्रयासमा माओवादी केन्द्रसहित सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको ओलीको आरोप थियो । तर, ओलीको उक्त आरोपको प्रधानमन्त्री दाहालले खण्डन गरेका छन् ।

उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको स्पष्ट पारेका हुन् । आज (सोमबार) चितवनको आफ्नो घरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो, तर एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’