कान्दामा पहिलोपटक स्थानीय सरकारको दृष्टि, मेयर, उपमेयरकै उपस्थितिमा जोडियो इन्टरनेट

भरतपुर । बिजुली बत्ती र सडक सञ्जालबाट टाढा रहेको कान्दामा इन्टरनेट पुगेको छ । खानेपानीबाहेक शिक्षा, स्वास्थ्य, विद्युत्, सडक, सञ्चारलगायत विकासका कुनै पनि पूर्वाधार नपुगेको कान्दामा स्थानीय सरकारले इन्टरनेटको व्यवस्था मिलाइदिएको हो । राप्ती नगरपालिकाको वडा नं–१३ मा पर्ने कान्दामा नगरपालिकाका मेयर शमशेर लामा, उपमेयर देवेन्द्र लामालगायतको टोली पुगेर इन्टरनेटको व्यवस्था मिलाइदिएको हो । नगरपालिकाले नेपाल टेलिकमको फाइबर नेट जडान गरिदिएको हो ।

आधुनिक जमानामा पनि हरेक क्षेत्रबाट पिछडिएको हुँदा तत्काल सम्भव हुने पूर्वाधारलाई पूरा गर्ने प्रयास गरिएको मेयर लामाले बताए । विशेषगरी, कान्देश्वरी आधारभूत विद्यालय र लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालित ‘कुमार–बलराम स्मृति छात्रावास’का लागि इन्टरनेटको व्यवस्था मिलाइएको उनले बताए । ‘सबैले कान्दाको विकटताबारे विभिन्न कथा बुन्ने गर्थे, हामी पनि जननिर्वाचित भइसकेपछि पहिलोपटक पुग्यौँ’, मेयर लामाले भने, ‘कान्दा साँच्चैको कान्दा नै रहेछ ।’

कान्दाको अभाव र विभिन्न खालको समस्या प्रत्यक्ष देखेर आएको बताउँदै मेयर लामाले आगामी दिनमा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनै पनि विकास निर्माणको काम कान्देली जनताका लागि उच्च प्राथमिकतामा राखिने बताए । नगरपालिका भएर पनि त्यति विकट क्षेत्रमा रहेको कान्देली चेपाङलाई नगरपालिकावासी भएको महसुस गराउन नगरपालिकाले सक्दो प्रयास गर्ने उनको भनाइ छ ।

विद्यालय र छात्रावासमा इन्टरनेटको सुविधा भएपछि खानेपानीसँगै सञ्चारको पहुँचले कान्दालाई छोएको छात्रावास सञ्चालन गर्दै आएको लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले जानकारी दिए । ‘हामीले गैरसरकारी संस्था भएर पनि विशुद्ध सरकारलाई नै सहयोग पुग्ने खालको काम गरेका छौँ’, उनले भने, ‘त्यसैले हामीले नसकेको खण्डमा छात्रावासलाई हेर्ने जिम्मा पनि स्थानीय सरकारले नै लिनुपर्छ ।’

उनले पहिलोपटक स्थानीय सरकारले आफ्नै उपस्थितिमा कान्दाको अवलोकन गरेर इन्टरनेटजस्तो अपरिहार्य आवश्यकता पूर्ति गराइदिएको भन्दै स्थानीय सरकारप्रति आभार व्यक्त गरे । भौगोलिक विकटताले गर्दा जुनकुनै जनप्रतिनिधि पनि हत्तपत्त कान्दा पुग्दैनन् । यसअघिकी मेयर प्रभा बराल पाँचवर्षे कार्यकालमा एकपटक कान्दा पुगेकी थिइन् । तर, उनले कान्दाका लागि कुनै पनि विकास निर्माणको काम अगाडि बढाउन सकिनन् ।

केही महिनाअघि प्रतिनिधिसभा सदस्य हरि ढकाल कान्दा पुगेका थिए । उनले भने कान्देली जनताका लागि आफ्नो क्षेत्र र अधिकारभित्र पर्ने सबैखाले काम गर्ने बताएका छन् । स्थानीय सरकार नै बल्लबल्ल पुगेको कान्दामा संघीय सांसद् पुगेको इतिहासमै पहिलोपटक हो । त्यसैले पनि सांसद् ढकालले यहाँका जनताले आफ्नै सांसद् भएको महसुस हुने गरी काम गर्ने आश्वासन दिएर फर्किएका छन् ।

#लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमलाई इन्टरनेट हस्तान्तरण गर्दै राप्तीका मेयरलगायत । चितवन पोष्टको सहयोगमा