नेपाली वृतचित्र ‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

काठमाडौँ । नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ ।

गणेश पाण्डे निर्देशित वृत्तचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबल एकलाख अमेरिकी डलर (नेपालीमा एक करोड तीस लाख नेपाली रुपैयाँ बराबर)को पुरस्कार हात पारेको हो ।

मेहोदो महोत्सवमा १२२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली वृत्तचित्रले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’ निर्देशक पाण्डेले भने ।

निर्देशक पाण्डेलाई आगामी वृत्तचित्रको परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ वृत्तचित्र फिल्म दर्शकलाई पस्कन आफूलाई मद्दत मिल्ने पाण्डेले बताए ।

वृत्तचित्र क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव उत्कृष्ट पुरस्कार पाएको थियो । यस अगाडि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो वृत्तचित्र फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले वृत्तचित्रको विषय बनाएका हुन् ।