रास्वपाको माग: एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ ।

महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने भन्ने अन्यौल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसलाई एजेन्डा बनाउन पनि रास्वापाले माग गरेको छ ।

‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस् ।’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस् ।’

नेपाल युएईलाई ७ विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपका लागि छनौट भएको छ । नेपाल पाकिस्तान र भारत रहेको समूहमा परेको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ ।