लेख्नै पर्ने कथा

निरज थापा

‘केही गरेन भने त केही पनि नहुने रहेछ।’

एउटा अकाट्य सत्यजस्तो बोल्यो राम। अर्थात् रामराज राई।

आफ्नो आँखालाई तेज पारेर हेरिपठायो तल टिस्टा खोलालाई। अलि उतै उतै कुदाएर आँखालाई पर सुभुक पुल, फाँटिलो बगर, तेर्सो मैदान र बाक्लो जङ्गल हेर्न लगायो। सिलगढी त्यहीँ, अलि परतिर त छ सपनाको सहर। यतिबेला अलिअलि आँखा अझ चम्किला भए उसका।

‘बस्नु त फ्ल्याटमै मजा आउँदो रहेछ ।’ अस्ति अलिक दिन माइली बहिनी मन्दोदरीको फ्ल्याटमा बसेको अनुभव बोल्यो राम। फेरि थप्यो, ‘सब्जी पनि घरैमुनि आउने, दूध पनि, फलहरू पनि, बिहान पूजा गर्ने सर-सामान पनि घरैमुनि ठेलामा आउँदो रहेछ। चौबिसै घन्टा रनिङ वाटर, बत्ती। यहाँजस्तो मध्ये बाह्रमा तर्साउँछ है भन्ने केही नहुँदो रहेछ। कोई बेला त ठिक्क रातको बाह्र बजे भूतले जस्तै मासु भात खाइयो। खोइ त केई भएन त।’

उत्तराधुनिक संस्कृतिको एक झलक देखायो उसले। इन्द्रबहादुर राईको विश्व तिम्रा चरणमा सम्झेछ क्या ढुङ्गामा बसेर उतै हेरेको हेरेकै भइरह्यो ऊ।

‘त्यै ढुङ्गामै चिप्लेर त लडेको सीता। तिम्लाई त था छ नि हैन श्याम? म पुग्दा त ढुकढुकी मात्र थ्यो।’ – नोस्ट्याल्जिक बन्यो राम। मूर्तिवत्। ठेल्यो भने मूढाजस्तै ढ्याक्क लड्नेछ ऊ यतिबेला।

‘एकसौ किबी त आउने रहेछ त्यो चाँप नि दाजु?’- सीता लडेको भनेकै ढुङ्गा छेउको चाँप देखाएर श्यामले एकछिनमा सोध्यो। श्याम अर्थात् श्याम भुजेल। उसको आँखामा: सीता खूनैखूनले लत्पतिएर पल्टिरहेकी छेउमै लडिरहेको छ उसले ढाल्न चाहेको चाँपको बडेमानको मूडा ।

‘तर काट्ने पो कल्ले?’ – मूर्तिभञ्जन भएर आफैं, बोल्यो राम। ‘त्यो ढुङ्गा देख्दैछौं नि कम चिप्लो छ। जानै गारो।’

‘म काट्छु दाजु। फिप्टि फिप्टि गरुम्।’

‘काट्न त काटिएला, निकाल्नु कसरी ? पैला सीताको लास निकाल्न त हामी पाँच- छ जना मूडे मूडेलाई हम्मेहम्मे परेको। उँधो लडायो तलै रियाङ खोला पुग्न बेर छैन। होस हौ। ज्यान जोखिममा नहाल।’

‘ज्यान त के छ र दाजु। आज छ भोलि छैन।’

‘भन्छौ नि, जहान छोरा छोरी पनि त हेर।’

‘सर्भाइवल अफ् दि फिटेस्ट दाजु। गरिखान्छ। त्यतिको बलियो त बनाको छु हौ, मैले। विश्वास पनि गर्नुपर्छ दाजु आफ्नो खूनमा। जति बेला केही थिएन, र त हामी बाँच्यौँ, अहिले त…।’

‘भन्छौ नि भन्नु त!’

‘हुन्छ हौ दाजु, आँट गर्नुपर्छ ।’

‘हेरूम् न त ल श्याम?’ भनेर मोटामोटी सात ऐकर जमीनलाई दुइटा आँखाको टोड्कामा राखेर उठ्यो राम। झन्डै झन्डै प्रपोज गोर्खाल्यान्डको म्यापजस्तो उसको जमिनलाई आँखाले नै रेखा कोरिराख्यो उसले। त्याँ चाँपको रूख, त्याँ भ्यागुते ढुङ्गा, त्याँ अम्बके, त्याँ रामफल, त्याँ मलबाँस अँ सिमाना ठीक छ। आँखा आँखामै सप्पै समेटेर भन्यो फेरि-श्यामलाई -‘पचास त दिन्छ होला नि त्यो घोषले?’

बुझेन श्यामले। पचास भनेको हजार, लाख, करोड अथवा के? केको दाम? कि के?

‘चाँप त्यता मिलाएको रहेछ’, मनमनमा सोच्यो श्यामले।

‘पैँतीसको फ्ल्याट 2BHK हेरेको छु। पचासमा पन्ध्र बाँच्छ, एउटा स्कुटी किन्छु। यता बस्तीको साग सब्जी त्यहीँ फ्ल्याटमै बेच्छु। गाडीले सालुगडा झारिदिहाल्छ। फेरि भएन फ्ल्याटमा चौकीदारी पनि गर्नु भनेको छ सोसाइटीले? मोटामोटी त दिन्छ होला!’ – भनेर सिरिरि हावामा एसीको चिसो सम्झँदै ‘एसीमा कस्तो मजा छ’ पनि विचाऱ्यो। मजा मानेर श्यामसित बिदा लिएर हिँडी पनि हाल्यो राम।

श्यामले पनि रामलेझैँ एरियालाई मानचित्रमा ढाल्यो। सोच्यो एउटा चाँपबाट नभए पनि बीस तीस हजार कमाइ हुन्छ, चाँप, लामपाते, चिलाउने, धुप्पी, तल औल औल परेकोमा भएको सैगुन,सखुवा मिलाउँदा सौवटाभन्दा धेरै छ। मालामाल भइन्छ। सोच्दैसोच्दै हिँड्यो ऊ पनि।

पाँच दिनपछि माथ्लो गाउँतिर हिँडेको श्यामले देख्यो;

-घरका सामानहरू क्यान्टर गाडीमा हाल्दैथियो राम।

– घोषबाबुले काँडेतारले रामको जग्गालाई घेरा लाउँदै थियो ।

-घोषबाबुहरू कानेखुशी गरेर हाँसिरहेथ्यो।

-घोषबाबुसित आएका अरूले औँल्याएर श्यामको जमिनलाई पनि देखाउँदैथ्यो।

-गाडीमा आएका अरूहरू दुर्बिन लगाएर पर परका गाउँलाई हेर्दैथिए।

श्यामलाई रातभरि निद्रा परेन। ओल्टो कोल्टो फेरिरह्यो। स्वास्नी सती एनजीओको स्वास्थ्य शिविरबाट थकित बनेर आएछिन्, फ्वाँ फ्वाँ सुतिरहेकी छन्। स्वास्नीले चाल नपाउने गरी विस्तारै ओछ्यानबाट उठेर भान्साघरतिर गयो श्याम। भान्साघरको लामो बेन्चीमा कुसनको सिरानी लाएर ढल्क्यो।

मोबाइल फोनमा हेडफोन जोड्यो र फेसबुक हेर्न थाल्यो। फेसबुकका वालभरि बसेका घरि यो पार्टीमा घरि त्यो पार्टीमा गर्ने-को नक्साहरू, खबरहरू हेऱ्यो।

उठ्यो, पोहोर एनिभर्सरीमा छोरोले दिएको उपहार कप झिक्यो,ग्यास चुलामा राखेको कितलीबाट पानी साऱ्यो, पिइहालेन। एकछिन केही केही घोलेको जस्तो हल्लायो, त्यसपछि पियो। के मन भयो कुन्नि ? छोरोलाई वाट्सएपमा मेसेज लेख्यो रोमनमा- ta kahileygharawchhas? chhuttimilchhavaneyaijana, sallachha.

लेखेर एक प्रकार आनन्दको भाव जाग्यो अनुहारमा। फेरि फेसबुक खोल्यो। फेसबुकमा पारि सुरुकको, बेलटारको, राङभाङको, मुस्ताङको, पोखराको, कुन्नि कुन कुन ठाउँको होमस्टे र रिसोर्टको विज्ञापन थियो। फेसबुकमा भनिएका र मानिएका साथीहरूले पनि फोटाहरू हालेका थिए, आहाल डाँडाका, पन्बुका, सुरुकका, बेलटारका, भेँडेटारका, अन्तुका, कन्यामका। धेरैले के के कमेन्ट पनि गरेका थिए, हेऱ्यो। के मन भयो, कानमा हेडफोन हाल्यो र भिडियो हेर्न थाल्यो। भिडियोमा:

बिमल गुरुङ अनसन बसिरहेको थियो। छेउमा अनिल लोप्चन बोलिरहेको थियो।

कहिलेको हो कुनि! रुदेन सादा लेप्चाको अन्तर्वार्ता चलिरहेको थियो।

राजु बिष्ट भेट्न गएको देखाइरहेथ्यो।

निरज जिम्बा, बिपी बजगाइँहरू पनि थियो।

अजय एडवर्डले अब जनताको राज भन्दै भाषण दिँदैथ्यो।

अनि त थापा गाउँ घुमेको पनि भिडियो थियो।

नो रोड नो भोट पनि थियो।

कन्सर्न युथ अफ् हिल्सको रिजनल एसएससी-को माग पनि थियो।

आरजे सागर, गाउँको छोरो-को कुन्नि कुन गाउँको भ्लग पनि थियो।

रबि लामिछाने बोलेको पनि थियो।

बालन शाहले बुल्डोजर चलाएको भिडियो पनि थियो।

हर्क साङ्पाङले पानी जोँड्दै गरेको पनि थियो।

भिडियोको ग्रुपमा कपिल शर्मा सो पनि थियो। सिङ्गिङ रियलिटि सो पनि थियो। यत्तिकै रिल्स थियो काचा बदाम-को। भए भरका पढ्दै गरेका नानीहरूको बेरोजगारी समस्या यसरी रिल्स बनाएरै समाधान हुन्छ-जत्तिकै थियो रिल्स। सायद यही रिल्सले नै ल्याइदिनेछ निनानब्बे प्रतिशत मार्क्स परीक्षामा।

अलि तलतिर थियो- चाइनिज फुडको भिडियो। हेरेर थुप्रै आइडियाहरू जाग्यो श्यामको मनमा, जो पहिले झरिलो थियो, कालान्तरमा भुप्रो मात्र थियो, फेरि सल्कियो।

सिन्कीको अचारको स्वाद आयो जिब्रोमा। आमाले बनाउने गरेकी भकिम्लो र लप्सीको अचारका बयेमहरू नाच्यो आँखामा।

राजनीति गर्छु भनेर अघि आएका युवाहरूप्रतिको गाली, आक्रोश पोख्नेहरूको पोष्ट पनि कम थिएन वालमा।

सबैभन्दा बेसी चर्चामा थियो- दार्जिलिङ नगरपालिका र बिच गल्ली।

पहाडमा एउटा चुलिएको अर्को सङ्कथन थियो- सिटोङ क्षेत्रका जमिन बिक्री र मधेशका अनेपालीहरूको बढ्दो सङ्ख्या।

श्यामले उस्तो ध्यानपूर्वक हेरेन। बुझिरहेन पनि। ‘जहिल्यै त्यस्तै त हो नि हामी,जहाँ पनि,र यो राजनीति’ भनेर फोन साइलेन्ट मोडमा राखेर त्यहीँ बेन्चमै ढल्किरह्यो श्याम।

बिहान झिसमिसेमै उकालो लाग्यो मुखै नधुई। रामको जमिन काँडे तारले घेरा लगाइसकेथ्यो। त्यो चाँपको रुख भएतिर जानु मन लागे पनि अर्काको सम्झेर पसेन श्याम, हेऱ्यो हेऱ्यो अनि फर्केर आयो घर।

भोलिपल्ट फेरि बिहानै पुग्यो। दुईवटा पहेँलो जेसीबी तैनाथ थियो। घोषबाबुले सिन्केधुप घुमाएर नरिवल फुटायो च्याप्टे ढुङ्गामा। जेसीबीले काम गर्न सुरु गऱ्यो अह्राइएको आ-आफ्नो दिशामा । दस-बाह्रजना मधेशीहरू काम गर्न ल्याएका रहेछन् तलैबाट। तिनीहरूले पनि आ-आफ्ना काम पक्रे।

‘मो त सुरु कोऱ्यो श्याम दाजु, एउटा सानो कटेज बनाउँछ मो, गरममा आएर बस्ने, पत्नी, नानीहोरुलाई ल्याउने छुट्टीमा’ भन्यो घोषले श्यामलाई निक्कै कन्सियस भएर, तर अलि भत्केको नेपाली ध्वनिमा।

श्यामले जवाफमा केही भनेन । लुखुर लुखुर घर फर्क्यो।

श्रीमती सतीले श्यामलाई कानमा खुसुक्कै भनी ‘……। भित्ताको पनि कान हुन्छ बुडो।’

दुई दिनपछि छोरो अभि आइपुग्यो। अभि अर्थात् अभिमन्यू। बेङ्लोरको ताज होटेलमा म्यानेजर काम गर्थ्यो। दु:ख,सुख गरेर श्यामले ग्र्याजुएट गराएर होटल म्यानेजमेन्ट कोर्स पनि गराएर बेङ्लोर पठाएको थियो।

तीनजना जहान दैलो थुनेर भित्रभित्रै बात गरे। बाहिर सुनिएन भित्रको कुरा।

निक्कै दिन बिते।

सिलगढीको दुई माइलमा टुबीएचके फ्ल्याट किनेर बस्न थालेको रामले टोटो किनेको रहेछ। गाउँलेहरूले कहिले काहीँ भेट्ने गर्छ। यता गाउँमा उसले किस्नेलाई जिम्मा दिएको छ दूध, साग, सब्जी सालुगढा पठाउने।

किस्ने अर्थात् कृष्णबहादुर लोहार। गाउँलेको जिब्रोमा कृष्ण बस्न नसकेर किस्ने नाम भएको। किस्नेले गाउँबाट दैनिक सिलगढी जाने गाडीमा पठाइदिएका साग-सब्जीहरू फ्ल्याटमा बिक्री गर्ने गरेको छ रामले । रहल समयमा उसले भारा पनि खेप्दो रहेछ दुई माइल चेकपोष्ट टु कसमस मल।

केही महिनापछि ‘रामले अर्की बिहा गऱ्यो अरे’ भन्ने हल्ला फिँजियो गाउँमा। सालुगढामै सब्जी दोकान गर्ने लोग्ने खसेको अधवैशे सावित्री कार्कीसित बिहा गरेको रहेछ। सावित्री कार्की डुवर्स ओदलाबारी निवासी रहिछन्। बिहा भएर सालुगढा आएकी रहिछ। हल्ला फैलिएको केही दिनमा फेरि पूर्ण खबर फैलियो गाउँमा। साच्चै बिहा गरेकै रहेछ।

एक वर्षपछि एकदिन आफ्नी नयाँ स्वास्नी र फ्ल्याटका छिमेकीहरूलाई लिएर गाउँ आइपुग्यो राम। छिमेकीहरूलाई औँल्याएर उसले आफ्नो जगा देखाउन खोज्यो। देखेर ऊ खुशी भएन। दु;खी पनि भएन। कता कता कुनि के केहरू भयो उसलाई।

त्यहाँ देख्यो उसले:

-आफ्ना आमा-बाबा गाडेको ठाउँमा ठूलो गोलोगोलो खाले खुल्ला घर बनिएको रहेछ। केही पर्यटकहरू होलान्, चिया कफी केही पिइरहेका थिए।

-सीता लडी मरेको ढुङ्गामाथि नै उभ्याएको रहेछ दुईतले कटेज। अलि माथि अम्बकेको रुख भएको-तिर साना साना झुप्रोजस्तो घर रहेछ पाँच छ वटा।

-जहाँबाट उसले आफ्नो जगाको म्याप कोरेथ्यो त्यहीँबाट कालो बाटो लगेको रहेछ परसम्मै।

-तिरतिरे धारालाई पनि स्विमिङ पूल नै बनाएको रहेछ।

टिलिक्क टिलिक्क टल्किएको घरले नै बताउँथ्यो ती कटेजहरू त्यहीँका रुखका काठले बनिएका हुन्।

अवाक् बन्यो हेरेर ऊ। भित्र भित्रै थकथक भयो उसलाई। श्यामको कुरा मानेको भए!- भन्ने ख्याल पनि आयो मनमा। सपनामा पनि सोचेको थिएन उसले, उसको त्यो कहालीलाग्दो विगत बसेको ठाउँ यति सुन्दर र मोहक हुन्छ भनेर! पसिनै पसिना भयो राम। सास फुलिएको जस्तो भयो।

आफू उभेको दाहिनेतिर अर्थात् आफ्नो जगाको विपरित छेवैमा उभेको थियो सिसैसिसाले बनेको बडेमानको होम स्टे। लेखिएको थियो ‘मलबाँस होम स्टे’। माथि माथि पर परसम्मै गाउँ अर्कै थियो। कति मिलाएर राखेका बाक्कलले बनाएको गमलामा सुनाखरीहरू। मलबाँसले बाह्रेर बनाएको घरको बार र गेट। एक दुईवटा सखुवाको मुडा काटेर बनाएको बस्ने, एक दुईवटा चाँपको पनि। बाक्कलले नै बनाएको लामो बेन्ची। सिरिरिरि हावा आइराखेको। खरले छाएर बनाएको सा-सानो हावा घर दुइटा।

वरिपरि लुङ्दरले आवाज दिइरहेको कानमा। घरको छतमा रुफ टप क्याफे। सिँडी, सिकुवा, खिड्कीको छेउ सबैतिर हरिया हरिया प्लान्ट राखिएको, झुन्ड्याइएको। मनि प्ल्यान्ट, स्नेक प्लान्टहरू देखेर उसको मनै रमायो। ‘आह!’ भन्यो। जो उसको बारीमा लडिपछ्यार हुन्थ्यो पहिले, उहिले नै रोपिराखेको।

चाँपका रुखमा कति मजाले फुल्थ्यो सुनाखरी। सिरिरि चिसोमा उसलाई एसीको चिसो मन परेन। फ्यानले पनि तातो हावा फ्याँकेको सम्झ्यो। रुममा त एसीले चिसै हुन्छ, पाइखाना जाँदा गरमले मर्नु भएको पनि सम्झ्यो। पारी झरनालाई हेऱ्यो, डाँडाहरू हेऱ्यो, पर दुर्पिन डाँडा, पर तारेभिर, तल टिस्टा।

‘पहाडमा जस्तो हेरुँहेरुँ लाग्ने, बसुँ बसुँ लाग्ने सुकिलो त कहाँ हुन्छ त मधेश’ भनिपठायो उसले एक धुनमा।

‘रामदाई हैन?’ सुन्नेले बोलाउँदा तर्सियो राम।

फर्केर हेऱ्यो रामले। श्याम रहेछ होम स्टेको बाहिर गेटमै उभिरहेको। अस्तिको श्याम र अहिलेको श्याममा निक्कै फरक देख्यो रामले। भरत, लक्ष्मण पनि रहेछ छेउमा।

भरत अर्थात् भरत थापा। फौजी जीवनबाट ब्रिगेडियर पोष्टमा अवकास ग्रहण गरेका। लक्ष्मण अर्थात् भर्खरै मात्र सिभिल इञ्जिनियरिङ सकेर घर आएका। भरतका छोरा।

श्यामका छोरा अभिमन्यू चाहिँ भित्र मुम्बईबाट आएका जीवविज्ञानका अन्वेषकहरूलाई नामथिङको सेलेमेन्डर र ग्रेटहर्नबिलको नक्सा देखाउँदै बताउँदैथियो। श्यामकी स्वास्नी एनजीओको मिटिङबाट भर्खर आइपुगी। भरत थापाकी स्वास्नी पद्माचाहिँ भित्र भान्साकोठामा लोकल ग्रिन स्यालेड बनाउँदै थिई।

श्यामलाई सोध्यो रामले- ‘तिमी यतै छौ अझै?’

‘खै कहाँ जाने दाजु, यतै सानो सानो व्यवसाय सुरु गरेका छौँ मिलेर हामीले। पर्यटनको लागि। अलिअलि खेती गरेका छौँ काउलोको, ड्र्यागन फ्रुटको, डल्लेको, स्ट्रोबरीको, किविको।’ भनेर श्यामले त्यहाँदेखि लहर लागेको पाँचवटा होमस्टे देखायो। तपाईँ त भागी हाल्नु भयो। अझै हातले देखायो श्यामले तल पुछारमा-‘ उ त्यो हाम्रो फार्म, त्यहाँ साग-सब्जी छ, कुखुरा छ, कालिज छ, माछा छ, गाई, बाख्रा र सुँगुर छ।’

रामले आँगनमै भएका ढुङ्गाहरूद्वारा बनाइएको धारामा दुई हातको अँजुलीमा पानी थाप्यो र मुख धुन थाल्यो।

श्यामले रामलाई चियाका निम्ति भित्र पस्ने निम्तो गऱ्यो।

रामले सिलगढीमा पाँच रुपेमा सानो कागजको गिलासमा खाने गरेको चिया सम्झ्यो, फ्ल्याटमा कस्सैले ‘चिया खानु आउनु न’ पनि नभनेको सम्झ्यो, अनि बिरक्त भएर आफैं, श्यामलाई भन्यो- ‘श्याम! जीवन भनेको यात्रा हो, भन्थ्यो नि सानुसरले? जति हिँड्नु पर्ने छ, जता जानुपर्नेछ, गइने नै रहेछ। कोही बेला लाग्छ यात्रा हो, कोही बेला लाग्छ जमिएको पोखरी हो।

कोही बेला त आफैले भनेका शब्दहरूकै घेरामा उल्झिने विचारजस्तो पनि लाग्छ जिन्दगी त!आफूलाई यहीँ त संसार छ, लाग्थ्यो पहिले। सीता खसेपछि संसारै अँध्यारो भइहाल्यो, अहिले फेरि सावित्री आएपछि उज्यालो लाग्छ। लागेर के गर्नु फेरि चार दिवारी जिन्दगी भइहाल्यो सिलगढीमा! संसार हेर, न हेर, टिभीमा। ’

‘मलाई त यस्तो लाग्छ हौ दाजु जिन्दगी भनेको चुनौती हो आउँछ डटेर सामना गर्नुपर्छ।’ श्यामले रामलाई बतायो।

आउने छिमेकी कसले हो कुन्नि, सोध्यो रामलाई- ‘तपाईंको जमिन चाहिँ कुन अरे?’

रामले आँखाभरि पुरानै मानचित्र नचाएर जवाफमा भन्यो- ‘ऊ त्याँदेखि ऊ त्याँसम्म, त्याँ तलदेखि त्याँ माथिसम्म।’ अहिले भनिएको याँदेखि, त्याँदेखि-मा पहिलेको रुखहरूको सिमाना थिएन। यहाँ अहिले त्यो घर, त्यो कटेज, त्यो पोखरी थियो।

‘आम्बो!’

धेरैले लामो जिब्रो निकाले। जत्तिको अवाक् अघि राम बनेथ्यो त्यसभन्दा दस गुणा बढी अवाक् बने तिनीहरू।

आएका एकजनाले चाहिँ हिसाब गऱ्यो…. गऱ्यो…. अनि भन्यो –‘तपाईं त गाउँको अम्बानी नै थिएछ नि।’

रातो…पिरो… भएर रामले भन्यो- ‘त्यो घर भएकोमै मेरो पहिलेको स्वास्नी लडेर मरेको।’
..
अलि पर चाहिँ श्यामले एकजना रामका अहिलेका छिमेकीलाई भन्दैथियो- ‘मोटामोटी दुईमा मिल्ला मिल्ला जस्तो छ, हामी लिन्छौँ लिन्छौँ।’

सिलगढी। १९ मई २०२२