नेपाली मूलका भण्डारीले अमेरिकामा सन्चालन गरेको व्यवसाय बन्यो ‘एक्सपोर्टर अफ द इयर’

 काठमाडौं । अमेरिकामा नेपाली मूलका राज भण्डारीले सन्चालन गरेको साइनसिक्स नामको व्यवसायले ‘एक्सपोर्टर अफ द इयर’ अवार्ड पाएको छ ।

अवार्ड विजेता कम्पनीको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा अवस्थित ह्वाइट हाउस परिसरमा अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले सम्मान गरेका छन् ।

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले नर्थ क्यारोलिनामा मुख्यालय रहेको साइनसिक्सलाई एक्सपोर्टर अफ द इयर अवार्डका लागि छनौट गरेको हो । यो कम्पनीका सञ्चालक राज भण्डारी र अपरेशन म्यानेजर रञ्जन कार्की हुन् ।

एसबीएले देशभरका साना व्यवसायहरूको उपलब्धि र योगदानहरूलाई वार्षिक रुपमा सम्मान गर्दै आएको छ । साइनसिक्स कम्पनी लगायतका विजेताहरुलाई अप्रिल ३० देखि मे २ सम्म सम्मान गरिएको थियो ।

साइनसिक्स कम्पनीले औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने लगायतका काममा आउने हाई पर्फमेन्स लिक्विड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री निर्माण गर्दछ । यो कम्पनीको मुख्यालय नर्थ क्यारोलिनामा र उत्पादन कारखाना मिनेसोटामा छ । यसको ग्लोबल मार्केटिङ निर्देशकमा लिसा बामफोर्ड छिन् ।