दलिय क्रान्ती छोडौं कृषि क्रान्तीमा जुटौं

नवीन केसी

क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्थापित गर्नुलाई जनाउँदछ । खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई सङ्केत गर्दछ । कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मूलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ । यस कारण कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ ।

हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि कृषि क्रान्तिको एक स्वरूप नै हो । कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, औद्योगीकरण, विविधीकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने, कृषिमा आधारित उद्योगहरू सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको ग्यारेन्टी भएको अवस्थालाई जनाउँदछ ।

बि.सं. १८६१ साल देखि ०६२/०६३ सालसम्म भएका बिर्तावालको विद्रोह, सुब्बा कृष्णलाल अधिकारीको मकै खेती किसान आन्दोलन, योगमायाका वाणी, बेठ प्रथा उन्मुलन, किसान सङ्घ स्थापना, रौतहटको तमसुक फट्टा आन्दोलन, किसान नेता भीमदत्त पन्तको “कित जोत हलो, कित छोड थलो, होइन भने अव छैन भलो” ऐतिहासिक किसान आन्दोलन, पुनर्वास र सुकुम्वासी आन्दोलन, नवलपरासी र रुपन्देही आन्दोलन, झापा आन्दोलन, भकारी फोर आन्दोलन, छिन्ताङ र पिस्कर आन्दोलन किसान आन्दोलन, माओवादी जनयुद्ध वा सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन, आदिवासी जनजाति, दलित आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुकृषि क्रान्तिसँग सम्बन्धित तथा अन्तर सम्बन्धित थिए । कृषि क्रान्तिले मुलुकको राजनीतिक सामाजिक क्रान्तिहरूको उद्देश्यलाई सम्बोधन गर्दछ । कृषि तथा पशुजन्य पदार्थको उत्पादनमा उल्लेख्य वृद्धिले कृषि क्रान्ति भएको आभास भएपछि मात्र” समृद्ध नेपाल, सुखी नेपाली”को नारा सार्थक हुनेछ ।

हाम्रो देशमा सबै किसिमको हावापानी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छन् । हाल कोभिड १९को कारणले बिदेसिएको जनशक्ति पनि उपलब्ध भएकोले समृद्ध मुलुकको लागि कृषि नै प्रमुख तथा उत्तम विकल्प रहेकोले नेपालमा कृषि क्रान्तिको लागि उचित वातावरण तयार भएको छ ।

नेपालको भू उपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१%, खेती नगरिएको जमिन ७%, वनजंगल रहेको जमिन २९%, झाडी रहेको जमिन १०.६%, चरन खर्क रहेको जमिन १२%, पानी रहेको जमिन २.६% र अन्य जमिन१७.८% रहेको छ ।

हावापानीको दृष्टिकोणले नेपाल एउटा अचम्मको देश हो । यहाँ उच्च हिमालको ठण्डा ट्रुण्डा हावापानीदेखि तराईको उष्ण प्रदेशीय हावापानी पाइन्छ । यहाँ सबै भन्दा बढी वर्षा पोखरामा ३३४५ मी.मी. र सबै भन्दा कम वर्षा मुस्ताङमा ३०० मी.मी. एवं वार्षिकऔसत वर्षा १६०० मी.मी. हुन्छ । यहाँ मुख्य वर्षा असारदेखि भाद्रसम्म हुन्छ । यहाँ साना ठुला छ हजार भन्दा बढी नदीनालाहरूबाट बर्षेनी १७ देखि २२५ अर्व क्युबिक मिटर पानी बग्दछ । नेपालमा सम्पूर्ण कृषि भूमिमा बाह्रै महिना सिँचाई गर्न ३५ अर्व क्युबिक मिटर पानी आवश्यक पर्दछ ।
नेपालको हावापानी अनुसार तराई अन्नको भण्डार, पहाडलाई फलफूल खेती र उच्च पहाड तथा हिमाली क्षेत्रमा पशुपालन भए पनि न तराईमा क्षमता अनुसारको अन्न उब्जाउन सकेको छ, न पहाडमा फलफूलको विकास गर्न सकिएको छ न उच्च पहाड तथा हिमाली भेगमा पशुपालन गर्न सकिएको छ न जडीबुटीको खेती नै गर्न सकिएको छ । सम्भावनाहरूको पहिचानको लागि उचित योजना बनाउनु आवश्यक देखिन्छ । सबै साधन श्रोतहरू मध्ये मानव साधन तथा जनशक्ति महत्त्वपूर्ण मानिन्छ । विश्वव्यापी कोरोनाको महामारीले बिदेसिएको जनशक्ति स्वदेश फर्केका छन् । यिनीहरूको लागि सजिलो गर्न सकिने पेसा व्यवसाय पनि कृषि नै देखिएको छ ।देश भरी करिब २५ प्रतिशत खेतबारी बाँझै रहेको एकातिर छ भने अर्कातिर खानपिनमा आयातित संस्कारहरूले निकै उतार चढाव आएको छ । खाने परिकार तथा खाने बानी फेरिएको छ । पोषण युक्त खाने कुराको उपभोगमा जोड दिइएको छ । हामीले जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यसको उपभोग नगरी उच्च पहाडी क्षेत्रमा आलु, उवा, कागुनो, चिनो, कोदो, फापर उत्पादन हुन्छ भने त्यहाँ भात खाने परम्परागत परिकार नखानाले खाद्य सुरक्षामा सङ्कट पैदा भएको छ यसलाई समयमै ध्यान दिनु आवश्यक छ ।

कृषि उत्पादनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ । कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरू जमिन, श्रम, पुँजी र सङ्गठनको पर्याप्त उपलब्धता हुनु अपरिहार्य ।

नेपालमा कृषि क्षेत्रको औपचारिक रूपमा विकासको सुरुवात विसं १९७८ सालमा कृषि अड्डाको स्थापना भएपछि मानिन्छ । औपचारिक रूपमा कृषि क्षेत्रको विकासको सुरुवात भएको एक शताब्दी हुन लाग्दा सम्ममा पनि कृषिमा आत्मनिर्भर हुनको सट्टा परनिर्भरता दिनानुदिन बढ्दै गइरहेकोले कृषि क्रान्ति अपरिहार्य रहेको कुरालाई नकार्न सकिँदैन ।

( लेखक केसि नायब प्राबिधिक सहायक पुतलिबजार नगरपालिका स्याङ्जा मा कार्यरत हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *