भरतपुर । चितवनमा केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीयाममा यात्रुले फलफूलका जुस, लस्सीलगायत चिसो पेय पदार्थ खान रूचाउँछन् । मानिसको मुख्य चाप रहने भरतपुर ओरालोस्थित वीरेन्द्र जुस सेन्टरमा भने फलफूल पकाउन प्रतिबन्धित विषादीको प्रयोग गरिएको पाइएको छ । यो जुस सेन्टरको शाखा त्रिचोकमा पनि रहेको छ ।
फलफूल पकाउन क्यान्सर रोग लाग्ने विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएपछि भरतपुर महानगरपालिकाले उक्त जुस सेन्टर बन्द गराएको छ । वीरेन्द्र क्याम्पसअगाडि रहेको यस जुस सेन्टरमा विद्यार्थी र यात्रुले जुस खाने गर्थे । जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको पाइएपछि अनुगमनमा गएको टोलीले जुस पसलमा ताला लगाएको हो ।
राजमार्गकै जुस पसलमा क्यान्सरजस्तो गम्भीर रोग लाग्ने विषादीको प्रयोग भएको पाइएपछि बन्द गराइएको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बताए । ‘मानव स्वास्थ्यमा अत्यन्तै हानि गर्ने त¤व फेला पारियो । त्यो फलफूल पकाउन प्रयोग गरिएको रहेछ’, उनले भने, ‘गर्मीको बेला कुहिएको केरासमेत लस्सीमा हाल्ने गरेको पाइएपछि पसल बन्द गराइएको हो । खाद्य ऐनअनुसार थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’
अनुगमन टोलीले महानगरकै अगाडि रहेको भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको थियो । भाटभटेनीमा निगुरो र साग बिग्रिएको अवस्थामा फेला परेको उनले बताए । भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछापालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको छ ।
त्यस्तै, चौबीसकोठीस्थित वैष्णव मिष्ठान्न भण्डारको किचनको सरसफाइमा ध्यान दिन अनुगमन टोलीले निर्देशन दिएको छ । भरतपुर अस्पतालअगाडिका होटलहरु फोहोर तथा अव्यवस्थित पाइएको छ । अनुगमनका क्रममा अनुगमन टोलीका सदस्य र व्यवसायीबीच विवाद पनि भयो ।
‘भरतपुर अस्पतालका पसलमा यसअघि पनि हामी अनुगमन गएका थियौँ । सरसफाइ गर्नुहोला, खाना पकाउने ठाउँमा जाली लगाउनुहोला भनेका थियौँ । तर, अहिले जाँदा आधाआधीले मात्रै लगाउनुभएको छ, अरुले लगाउनुभएको रहेनछ’, उनले भने, ‘मूल्यसूची पनि अझै टाँसिएको रहेनछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफूल पकाउन प्रयोग गरिएको क्याल्सियम कार्बाइडलाई सरकारले नै प्रतिबन्ध गरेको बताए । ‘क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा हामीलाई क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । उहाँहरुले जुन किसिमको काम गर्नुभयो त्यो स्वास्थ्यका हिसाबले अक्षम्य हो’, उनले भने ।
उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसालले अन्य फलफूल तथा जुस पसलमा पनि अनुगमन गर्नुपर्ने बताए । फलफूल पकाउन लुकीछिपीरुपमा प्रतिबन्धित विषादी प्रयोग गर्ने गरिएको भन्दै उनले विशेषगरी फलफूल मण्डीमा प्रभावकारी अनुगमन गर्नुपर्ने बताए । ‘स्वास्थ्यमा गम्भीर असर गर्ने विषादी प्रयोग गर्नु भनेको आपराधिक काम हो, यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ’, उनले भने, ‘यस्तो काम गर्नेलाई कडा कारबाही गर्न आवश्यक छ ।’ चितवन पोष्टको सहयोगमा