गाउँको त्यो बिहे, सहरमा पार्टी प्यालेसको यो बिहे!

अमन बस्नेत  

बिहान सात बजेको हुँदो हो। आफ्नो धर्म निभाउन अलार्म पनि जोडजोडले एकोहोरो कराउन थालेको थियो।

एकछिन सुत्ने योजना बनाउँदै अर्लाम अफ गरेँ। झस्याङ्ग याद आयो, ‘ओहो! आज विनयले मार्छ। धत्तेरी, भुसुक्कै बिर्सेको!’ हत्तपत्त उठेर साथी विनयलाई फोन गरेँ। ‘पार्टी प्यालेसतिर सबेरै जम्मा हुन्छन् है। चाँडै पुग्नुपर्छ नि।’ मलाई आठ बजे पिकअप गर्न आउने भयो ऊ। विनयको सहकर्मी दिदीको बिहे थियो।

‘दिदीको पहाड घर रामेछाप रहेछ अनि बेहुलाको सिन्धुली। अहिले सबै जना काठमाडौंतिर डेरा गरी बस्छन् भन्ने सुनेको,’ विनयले मलाई सुनायो। खासै चासो राखिनँ मैले। खासै जाऊँझैं लागेको पनि थिएन। विनयले ‘म एक्लै हुन्छु, तिमी पनि जानुपर्छ’ भनेपछि हस् भनेको हुनाले जानैपर्ने भयो।

उसको आउने बेलासम्म नुहाएर र ब्रेकफास्ट तयार पारेँ। लोकेसन भक्तपुरको कुनै एक पार्टी प्यालेस थियो। ८ नबज्दै विनय आइपुग्यो। टिपटप! बेहुलाभन्दा कम देखिएको थिएन ऊ।

‘पार्टीमा कति धेरै परिकार बनेको छ, तँ यहीँबाट अघाएर गएपछि त्यहाँ पुगेर चै रमिता हेर्ने हो?’, भन्दै खान दिएन । चाँडै तयार हुन हुकुम भएपछि खैरो कटन पाइन्ट र उसैले गिफ्ट दिएको हाफसर्ट लगाएँ। जुत्ता अफिसकै। कोट थिएन। लगाइनँ। कपाल मिलाउँदै निस्कियौँ।

जाम छिचोल्दै १० बजेतिर पार्टी प्यालेस पुग्यौं । त्यहाँको तामझाम, झकिझकाउ, रंगीविरंगीको बत्ती, डिजे म्युजिक अनि मान्छेहरू। ओहो! कति सुकिलामुकिला। छुँदा पनि फोहोर लाग्ला झैं। पहिरन उस्तै! कोहीभन्दा कोही कम थिएनन्।

आगन्तुकहरू आउने क्रम चलिरह्यो। हामी छुट्टै कुनामा गएर बस्यौं। आएका सबैमाथि आँखा डुलाएँ। प्रायः मेरै उमेर समूहका मानिसहरू थिए केहीबाहेक। लाग्थ्यो कि कुनै साथीको बर्थडे पार्टी मनाउन गएजस्तो भान भयो।

आउनेबित्तिकै सबैजना बेहुली भएतिर हान्निए। हातको बुकेसँगै वैवाहिक जीवनको शुभकामना पनि दियौं। त्यसपछि फोटो खिचाउन व्यस्त प्रायः महिलाहरू।बेहुलीलाई साइडमा देखाएर टिकटक बनाए भ्यूज अलि बढ्ता आउँदो हो। त्यसैमा तल्लीन देखिन्थे सबै। एकअर्कामा खासै परिचित हुन् जस्तो नलाग्ने ती पनि।

टाढाको नातेदार, बेहुलीको साथी हुनाले फर्मल हाइ हेल्लो गरेजस्तो। फेसबुक फ्रेन्ड टाइप। यो सबै चर्तिकलाको साक्षी कुनामा बसेका हामी भयौं। न फोटो खिच्यौं न त टिकटक नै बनायौं। केवल हेरेर बस्यौं।

एकछिनमा जन्ती आइपुगे। एक छेउमा मण्डप सजाइएको थियो। बेहुलाबेहुलीलाई राखेर पण्डितले मन्त्र सुरू गरे। एकैछिनमा विवाह सम्पन्न भयो। सबैजना खान हलतिर लागे।

पेटमा दौडिरहेको मुसालाई शान्त पार्न हामी पनि त्यतै लाग्यौं। बफे सिस्टम रहेछ। ८-१० वटा भाँडामा थरीथरीका परिकार राखिएको थियो।

मुखमा पानी आयो। लाइनमा बस्यौं। हातमा प्लेट लिएर खाना राख्दै गयौं। पुलाउ, राजमाको दाल, २-३ थरी अचार, सलाद, पापड, पनिर अनि लास्टमा मासु। अब परेन त फसाद!

अन्त्यमा मासु हुँदा दुई चोक्टा मासु राख्ने बाहेक ठाउँ थिएन। कति जुक्ति लाउन जानेका है! पछि थप्न जान पनि सकिएन। आफैं थप्न जानुपर्ने। अप्ठ्यारो लाग्यो। धेरैलाई त्यस्तै हुँदो हो। खाएर फेरि पुरानै हलमा फर्कियौं।

अघाएर आएपछि बेहुलाबेहुलीसँग फोटो खिच्न पालो कुर्न लागे। विनय पनि त्यतै होमियो। गेटबाट भित्र छिर्नेबित्तिकै साइडमा सानो रूम रहेछ । त्यहाँ चुरोट तान्न पाइने कि नपाइने कुरा गार्डसँग सोधें। गार्ड रूम रहेछ। मजाले पाइने कुरा भन्यो उसले।

उसँगै लाइटर लिएर भित्र छिरेँ। सर्टको दुइटा बटन खुला गरेँ। आनन्द भो। चुरोटको धुवाँले कोठाको प्रत्येक कुना स्पर्श गर्न पुग्यो। त्यहीँ भएकोओछ्यानमा पल्टेँ। बाहिर त्यत्रो रमझम छ। झिलिमिली। त्यतिका बाबजुद अनि एक्लो महसुस भयो। न कोहीसँग गफिनु, न फोटो खिचौँ भन्दै कवाडी मोबाइल तेर्स्याउनु। उकुसमुकुस मेट्न चुरोटले भूमिका खेल्यो। ओछ्यानमा पल्टिएँ। पोहोर साल गाउँमा सुब्बा दाइको बिहे सम्झेँ।

गाउँका सबै तन्नेरी, केटाकेटीदेखि  बुढापाकासम्म निम्तो मान्न आएका। झुत्रोझुम्रो जे छ त्यसैमा सजिएर। न फोटो खिच्नेको लस्कर, न टिकटक बनाउने होडबाजी! विशुद्ध अर्गानिक लाग्ने। आँगनमा लस्करै लागेर मौलिक धुन पस्कन बसेका पन्चेबाजा टोली। त्यसैको तालमा छमछमी नाच्ने अर्को हुल।

तलतिर बारीको डिलमा खाना खानलाई बिछ्याइएको परालको गुन्द्री। खाना बाँड्नलाई गाउँकै छिमेकी इस्टमित्र।

‘मलाई दुई वटा  घिउको दुना चाहिन्छ!’ घुर्की देखाएँ । अघि भर्खर खाउँ लाग्दालाग्दै लाज लागेर मासु थप्न नगएको कुरा सम्झेँ। गाउँमा भो पुग्यो भन्दाभन्दै थपिदिने।

गाउँका ठिटाठिटी जन्ती पक्षमा आफू सुहाउँदो जोडी हेर्दै जिस्किन गएको देख्दा खुब मजा आउने । रित, संस्कार मान्न दुई पक्षकै बुढापाकाहरू बस्नलाई मूलढोका भित्रको कोठामा बनाइएको विशेष ठाउँ।

बेहुला-बेहुलीलाई एक ठाउँमा टीकोटालो गर्न बसाइएको। सिरान घरकी आमाले टीकासँगै सय रुपैयाँको नोट पटुकी भित्रबाट निकालेर हातमा थमाइदिँदा बेहुलीले केही लजाएजस्तो गरिन्। गाउँको त्यो विवाहसँग आजको पार्टी प्यालेसको माहोल तुलना गरेँ।

कति खल्लो! कति देखावटी! अपनत्व खै कता कता।  औपचारिकता मात्रै पूरा गरेजस्तो। चलिआएको चलनलाई खोपामा तटस्थ उभ्याएजस्तो। चाउरी परेका हात शिरमा राखेर आशीर्वाद दिने गाउँका काकाकाकी, मामामाइजु,  हजुरबा हजुरआमा उतै गाउँतिरै! यता गिफ्ट र फूलका बडेमानका बुकेहरू मात्रै।

रितिरिवाज, संस्कार, परम्परा, मौलिकतामाथि आधुनिकता हावी हुँदै गएको प्रष्ट देखिन्थ्यो । तुच्छ मनुष्य समयको दास न हो, समयले जे बोकेर ल्यायो `हस्´ भन्दै स्वीकार्नुबाहेक अरू सामर्थ्य छ जस्तो पनि लागेन।

मोर्डन बन्ने दौडमा होमिँदा खल्तीबाट परम्परा, संस्कार नजानिँदो पारामा कतिखेर कता खसेको था´पत्तो नहुने।
यत्तिकैमा विनयले फोन गर्‍यो।

‘कता गायब हो!’ हतारहतार सर्ट मिलाएर निस्केँ । दुलहादुलहीलाई बधाई दिएर दुइटा फोटो खिच्न भ्यायौँ हामीले पनि । अन्त्यमा पार्टी प्यालेसको गेटमा सेल्फी लिएर फर्कियौं हामी।

ताजा समाचार