बुढ्यौलीको युवापन!

आयुष कोइराला

अगाडि सजिएको छ
जिन्दगीको रङ्गमञ्चको रङ्ग-मिश्रित
क्यानभास,
पोतिएका छन् रङहरू
बालापनका, युवावस्थाका…
कल्पहरू बुढेसकालका…

एक मुढो ठीक अगाडि छ
उभिएको, ठिङ्ङ..
मस्तिष्कमा कल्पनाको सिरेटो चलिरहेछ
सर-सर.. सर-सर….
हल्का फुल्न थालेका केश कन्याउँदै
घरी सपनाउँछ, फेरि सुम्सुम्याउँछ
खजमजिएको केश;

बसन्तको आगमनले पालुवा पलाएका
तमाम बोटबिरूवाभन्दा माथि हेर्छ
लुकामारी खेलिरहेका जुन-तारा,
घरिघरि ढाक्न आउने बादल,
मनमा हुरी चल्छ,
बितेको प्रेमभावको,
छरिएका आयामहरूको,
पार गरेका गोरेटोहरूको,
यादहरू बालापनको,

आँखाका काँपबाट आँसु तप्किन्छन्
पुराना याद, माटोमा बिलाउँछन्,
जसरी बादलले जुन र चन्द्रमा छेक्छ
बेला-बेला,
फेरि बादलले घुम्टो नओढेको देख्छ,
जुन र तारा.. मुस्कुराउँछन्
मनचरी फुरूङ्ग हुन्छ,
क्यानभासमा हरियो रङ पोत्छ
अर्केस्ट्राबाट सुमधुर धुन बज्छ
जवानीमा हाइलाइट गरिएको केशझैं
फुलेको कपालमा मगमगाउँछ,
बुढ्यौलीको युवापन।

ताजा समाचार