वनएक्स ब्याट र वनएक्स बेटको ‘कनेक्सन’ बारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । नेपालमा हुने क्रिकेट प्रतियोगिताहरूमा शीर्ष प्रायोजक बनेको ‘वनएक्स ब्याट’ माथि प्रहरीले अनुसन्धान गर्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारे अनुसन्धान सुरु गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीले अवैध अनलाइन सट्टेबाजीसँग जोडिएको भन्दै वनएक्स ब्याटमाथि अनुसन्धान थालिएको जानकारी दिए ।”नेपालमा हुने क्रिकेट खेलको प्रायोजकका रूपमा रहेको वनएक्स ब्याटले पनि अवैध अनलाइन सट्टेबाजीलाई प्रोत्साहन गरिरहेको सूचना हामीले पाएका छौं,” एसएसपी केसीले भने, “त्यसैले त्यो वनएक्स ब्याट भन्ने जुन स्पोन्सर छ, त्यो फेरि एसियन रिजनल हाउसबाटै आएको छ भन्ने बुझेका छौँ । यसले सरोगेट एजेन्सीका रूपमा काम गरेको हो भन्ने कुरा पनि हामीले देख्यौं ।”

एसएसपी केसीले अगाडि भने, “हामीले प्रमाण भेटायौं भने त्यस (वनएक्स ब्याट)मा जोजो संलग्न छन्, ती सबैलाई ल्याउने अवस्था हुन्छ । त्यसैले हामीले अहिले प्रमाणको कुरा गरिरहेका छौं ।”

अहिले वनएक्स बेटमा काम गरिरहेको भएपनि यसको सम्बन्ध वनएक्स ब्याटसँग भएको पाइएमा कारबाही प्रक्रिया थाल्ने केसीको भनाइ थियो ।

उनका अनुसार कार्यालयको अनुसन्धान टोली अहिले वनएक्स बेट र वनएक्स ब्याटबीचको सम्बन्धको प्रमाण सङ्कलन गरिरहेको छ । नेपालमा हालै सम्पन्न एसीसी प्रिमियर लिग प्रतियोगितामा वनएक्स बेट, डाफा बेट र स्काई एक्सचेञ्ज प्रमुख प्रायोजकका रूपमा ‘सरोगेसी’ विज्ञापनमा जुटेका थिए । वनएक्स बेटले न्युज पोर्टलका रूपमा वनएक्स ब्याट, डाफा बेटले डाफा न्युज र स्काई एक्स्च बेटले न्युजपोर्टल स्काई एक्स्चको नाममा प्रायोजन गरेका थिए ।

त्यसअघिका क्रिकेट प्रतियोगिताहरूलाई समेत यी कम्पनीहरूले प्रायोजन गरेका थिए । यस्ता प्रतियोगितामा आर्थिक सहायता दिने अधिकांश विदेशी प्रायोजक ९विज्ञापनदाता० को पृष्ठभूमि अनलाइन बेटिङ (सट्टेबाजी) सँग जोडिएपनि नेपालमा यिनीहरूले सहजै प्रवेश पाएका छन् ।