मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित भए मेयर बालेन

काठमाडौं,१७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्।

ब्रुसेल्स समिटमा मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार जेठ २९ देखि ३२ सम्म भएको समिटले मेयर बालेनलाई २०२४ देखि २०२६ सम्मका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो।

मेट्रोपोलिस शहरी चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्ने महानगरीय क्षेत्रका प्रमुख शहरहरूको अन्तर्राष्ट्रिय नेटवर्क हो।

यसले रणनीतिक अभिमुखीकरणको विकास र महानगरको मिसनको विकास र उपलब्धिका लागि आवश्यक निर्णयहरू अनुमोदन गर्छ।

यसले विभिन्न सहरहरूबीच भएका ज्ञान, उत्कृष्ट अभ्यास र अनुभवहरू साटासाट गरी स्थानीय सरकारबीच सहयोग आदानप्रदान गर्नुका साथै साझा शहरी समस्याहरूको समाधानको प्रयास गर्छ। त्यस्तै शहरी शासन, सामाजिक समावेशीकरण, दिगो विकासका क्षेत्रमा पनि  मेट्रोपोलिसले काम गर्छ।

संस्थाले सम्मेलन, सेमिनार, र विभिन्न परियोजनामार्फत, मेयर, नीति निर्माता तथा विशेषज्ञहरूलाई सहरी विकासका लागि व्यावहारिक समाधानहरू खोज्न सघाउँछ।