भरतपुर महानगर भित्रका बालगृह मापदण्ड विपरित सञ्चालन

भरतपुर, १९  असार। चितवनको भरतपुर महानगरपालिका भित्र सञ्चालनमा आएका बालगृहहरु मापदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ । भरतपुर महानगरपालिकाले गरेको अनुगमनका क्रममा अधिकांस बालगृह मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।

भरतपुर २७ पर्साढापको प्रेम नेपाल बालगृह,भरतपुर १६ को अश्मा बाल पुनःस्थापना गृह, भरतपुर ५ को सामुदयिक स्तरमा सञ्चालित पिटुसिटु, भरतपुर ७ मा रहेको राइज अफ होम र भरतपुर ९ मा रहेको चितवन मानवसेवा आश्रममा महानगरपालिकाले सोमबार र मंगलबार अनुगमन गरेको हो । अनुगमन गरिएका सबै बालगृहले सबै मापदण्ड पुरा नगरेको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । “यहाँ सञ्चालित बालगृहहरुले कुनै न कुनै मापदण्ड पुरा गरेका छैनन्,उहाँले भन्नुभयो, कोहीको दर्ता प्रकृया छैन, कोहीको भौतिक संरचना छैन ।” उहाँले बालगृहहरुमा खान बस्नको समेत राम्रो व्यवस्था नभएको पाइएको बताउनुभयो ।

भरतपुर महानगरपालिका भित्र २२ वटा बालगृहहरु सञ्चालनमा रहेका छन् । २२ बालगृहमा संरक्षित बालबालिकाको संख्या ६ सय ७८ रहेको छ । जसमध्ये बालक २ सय ९६ र बालिका ३ सय ४४ जना रहेका छन् । सबै बालगृहहरुलाई सुधार नगरे बन्द गर्ने तयारीमा रहेको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले पहिलो चरणमा सबै बालगृहका सञ्चालकलाई छलफलमा बोलाइएर सचेत गराउने र सुधार नगरे बन्द गर्ने बताउनुभयो । काठमाडौंपछि सबैभन्दा धेरै बालगृह चितवनमा छन् ।

भरतपुर महानगरपालिकाको सामाजिक विकास समिति संयोजक परमेश्वर खनालले बालगृहले भौतिक संरचना, खानपान, सरसफाई, खैलमैदान, स्वास्थ्य लगायतका मापदण्ड पुरा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै महानगरपालिका कडाइका साथ प्रस्तुत हुने बताउनुभयो ।