छ जना पूर्व अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी गरी शुद्धीकरणका नाममा महासंघकै संस्थागत विकासमा महत्वपूर्ण योगदान पुयाएका अग्रज र क्रियाशिल पत्रकारहरुको इतिहास मेट्ने गरी तयार गरिएको कार्यविधि परिमार्जन गर्न पनि आग्रह गरेका छन् ।
‘नेपाल पत्रकार महासंघ, चितवन शाखाको हकमा महासंघले कार्यविधि तयार हुनुभन्दा अगाडि नै पटक–पटक सूचना प्रकाशित गरी सदस्यहरुसँग विधानतः शुल्क र आवश्यक कागजात मगाएर नवीकरणको रसिदसमेत वितरण गरेको देखिन्छ । यसैले विधानतः प्रक्रिया पुरा गरि नवीकरण गरिसकिएको हो भने विधानबमोजिम नै नवीकरणको प्रकृया कार्यान्वयन गर्न हामी सुझाव दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
नयाँ सदस्यता र नवीकरणमा देखिएको समस्या तत्काल समाधान गरी महासंघको कार्यालयमा लगाइएको ताला खोल्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई उनीहरुले आग्रह पनि गरेका छन् । पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, विष्णु छिमेकी, जनक अर्याल, कृष्ण गिरी, हरिप्रसाद पोखरेल र राधेश्याम खतिवडाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
महासंघको सदस्यता नवीकरणका लागि सिफारिसमा असन्तुष्टि जनाउँदै प्रेस चौतारी चितवनले असार २३ गते तालाबन्दी गरेको थियो ।