‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपियो’

काठमाडौँ, २५ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका हुन् ।

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताए ।

उनले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरूलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठुलो चाँप देखिएको धारणा राखे ।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी वर्षको बजेटमा देखिएको जिकिर गरे । उनले पब्लिक क्याम्पस ठुलो सङ्ख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए ।

उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताए ।