चितवन, २५ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज (सोमबार) दिउसो १ः४५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमा नै रोकिएका छन् । सोही ठाँउमा शनिवार पहिरो जाँदा झण्डै नौ घण्टा सडक अबरुद्ध भएको थियो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । यो सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।