सुदूरपश्चिम प्रदेशसभाबाट मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

धनगढी, २५ असार । सुदूरपश्चिम प्रदेशसभाबाट गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो । शोक प्रस्ताव पारित भएसँगै प्रदेशसभाको बैठक स्थगीत भएको छ । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत भएको जानकारी दिएका छन् ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले असार १ गते अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सोमबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको हो ।

सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले बजेटप्रती असन्तुष्टि जनाएपछि प्रदेशसभाको बैठक बस्ने सकेको थिएन तर सभामुख भण्डारीले पहलकदमी लिएर संसद चलाउने वातावरण बनाएका हुन् ।

अब बस्ने बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने प्रदेश सरकारले जनाएको छ ।