उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्वेकिस्तान । उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।

उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाउनुभएको छ । तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उहाँले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो । यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उहाँलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पु¥्याइएको थियो, यसको अर्थ उहाँ सन् २०३७ सम्म सत्तामा रहन सक्नुहुनेछ । पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ ।

मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिद्वारा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गर्नुभएको छ र उहाँले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताउनुभएको छ ।

उहाँले आफ्नो पुनः निर्वाचन अभियानलाई एज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गर्नुभएको थियो । उहाँले उज्बेकिस्तानको कपासखेतमा जबर्जस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गर्नुभएको छ । उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् । (एएफपी)

तस्बिर : राेयटर्स